राष्ट्र बैंकको लापरवाही : ढुसी परेर दुई लाख डलर स्वाहा !

Economy

नेपाल राष्ट्र बैंकको ढुकुटीमा रहेको मध्ये दुई लाख डलरमा स्वाहा हुनेगरी ढुसी लागेको छ । पचास दरको चार हजार थान अमेरिकी डलर एउटै डल्लो भएर ढुसी र छिँडीको ओसले नछुट्टिने गरी टाँसिएको हो । यसबाट प्रचलित विनिमयदर अनुसार दुई करोड चालिस लाख रुपैयाँ सरकारको कोषमा चुना लागेको छ । त्यसैगरी, बैंकको बालुवाटारस्थित छिँडीको ढुकुटीमा रहेका अन्य दरका डलर तथा विदेशी मुद्रा पनि ओसले बिगारेपछि त्यसको समेत पूरा भुक्तानी नआउने भएको छ ।

आंशिक क्षति भएका डलर लगायतका विदेशी मुद्रा झण्डै पचास लाख रुपैयाँ बराबर रहेको स्रोतको दाबी छ । गत कात्तिकदेखि नियमानुसार सिङ्गापुरस्थित सीआईएम बैंकमा बैंकिङ्ग कार्यालयले विदेशी मुद्रा नपठाई थन्काएपछि ढुसी परेको हो । झण्डै ४५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सीआईएम बैंकमा जम्मा नगरेपछि अहिले ढुसी लागेको बताइन्छ ।  बैंकको विभिन्न शाखा कार्यालयबाट प्राप्त रकमपछि मौज्दात बढेर झण्डै ६० अर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो । ढुसीले नष्ट भएको मात्र होइन बेलैमा उक्त रकम सिङ्गापुरमा जम्मा गरेको भए उक्त रकममा आउने १० करोड रुपैयाँभन्दा बढीको ब्याजसमेत बैंकले अनाहकमा गुमाएको छ । जबकि नेपाल राष्ट्र बैंकको सम्पूर्ण आम्दानी कानुनतः नेपाल सरकारकै आम्दानी हो ।

बैकिङ्ग कार्यालयमा विदेशी मुद्रा व्यवस्थापनमा भएको लापरबाहीको आवश्यक छानबीन गर्न प्रधानमन्त्री कार्यालयले गत बैशाख २६ गते लिखित निर्देशन दिएपनि गभर्नरले चासो नदिएको कर्मचारीहरु बताउँछन् । उनीहरुका अनुसार ‘जो बोक्सी, उही धामी भनेझैं प्रधानमन्त्री कार्यालयको निर्देशनलाई गभर्नरले झारा टार्ने किसिमले सम्बन्धित कर्मचारीसँग जवाफ मागे र त्यहि जवाफलाई छानबिन पछिको तथ्य भन्दै बैंक तथा वित्तीय संस्था नियमन विभाग मार्फत् जेठ १६ गते पठाएका थिए ।

(जनआस्था साप्ताहिकबाट साभार )