भ्रष्टाचार विरोधी उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन्। उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ। कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको हो। दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ। दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको प्रहरीले जनाएको छ। श्रम कार्यालय स्रोतकाअनुसार काम नगरेको भन्दै सञ्जेलले करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकालिदिएका थिए। दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला) को बहिनी ज्वाईँ हुन्। केही दिनअघि कार्यालयको पानी तान्ने मोटर पनि चोरी भएको थियो। मोटर चोरी भएपछि र कार्यालयका सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई÷दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाएका थिए।
महिला कर्मचारीलाई २४ घण्टानै ड्युटीमा लगाएको भन्दै कार्यालय सहायक सञ्जेलसँग आक्रोशित बनेको एक कर्मचारीले बताए। ‘बहिनी ज्वाईंलाई कामबाट निकालिदिएको र आफूलाई पनि २४ घण्टा नै ड्युटीमा लगाएपछि सञ्जेलसँग निरौला आक्रोसित बनेकी थिइन्,’ उनले भने, ‘त्यही रिस फेर्न अर्की कार्यालय सहायकसँग सहयोग लिएर कार्यकक्षभित्रै प्रमुखमाथि आक्रमण गरियो।’ प्रहरीले पनि अनआवश्यक ड्युटीमा लगाउँदै काममा पेलेर धेरै दुःख दिने गरेको र आफन्तलाई कामबाट निकालिदिएको रिसमा कुटपिट गरेको खुलेको बताएको छ। पटक–पटक सञ्जेलले गालीगलौज गर्ने र अनाआवश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले पनि कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन्। सधैं कार्यालयका कर्मचारीलाई कामको विषयमा सञ्जेलले धेरै तनाव दिने गरेको उनीहरुको आरोप छ।