भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले त्यस्तो धारणा राखेका हुन् ।‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो । पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी । र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ’ सम्मेलनलाई सम्बोधनका क्रममा जयशंकरले भनेका छन् ।
भारतीय राजनीतिक नेतृत्वबाट गौतम बुद्धलाई भारतको दाबी गरिएको यो पहिलो पटक भने होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारत बुद्धको भूमि भएको दाबी गरेका थिए । मोदीको उक्त भनाइको पनि नेपालमा विरोध भएको थियो । तर उनै मोदीले ठिक ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको उल्लेख गरेका थिए । मोदीको गरेको उक्त सम्बोधनले नेपालमा निकै वाहवाही पाएको थियो । तर, नेपालमा त्यस्तो अभिव्यक्ति दिएका मोदीले नै बेलाबखत बुद्ध भारतीय भएको दाबी गर्दै आएका छन् । गत वर्ष संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा पनि मोदीले भारतले विश्वलाई बुद्ध दिएको दाबी गरेका थिए ।