काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको एक हप्ते संवादहिनता बिहीबार तोडिएको छ ।
आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि होम क्वारेन्टाइनमा बसेका प्रचण्ड बिहीबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगे भने दिउँसो आफ्नो समूहको भेला आयोजना गरेका छन् ।
घण्टौं चलेको ओलीकोसँग वार्तापछि प्रचण्डले आफ्नो समूहलाई साथ दिइरहेका नेताहरुको भेला आयोजना गरेका हुन् । प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा नदिने अडान लिइरहेका ओलीले पाँच दिनभित्रमा पार्टीको विवाद सकिने बताएको भोलिपल्ट प्रचण्ड बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा ओलीसँग भेट गरेका प्रचण्डले त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग थापागाउँको प्रेसिडेन्टल कलेजमा भेला गराएका थिए ।
सोक्रममा उनीहरुले प्रदेश ५ का केन्द्रीय सदस्यहरूसँग छलफल पनि गरे । ओलीसँग छलफलमा भएका कुराबारे ब्रिफिङ गराएका प्रचण्डले पार्टीको विवाद समाधानबारे सुझाव पनि मागेका छन् ।
शुक्रबार पुनः ओलीसँग छलफल गर्ने तयारी गरेका प्रचण्डले त्यसअघि आफ्नो समूहका नेतादेखि अन्य सदस्यहरुसँग सुझाव लिइरहेका छन् ।
शुक्रबार पुनः ओलीसँग छलफल गर्ने तयारी गरेका प्रचण्डले त्यसअघि आफ्नो समूहका नेतादेखि अन्य सदस्यहरुसँग सुझाव लिइरहेका छन् ।
यसअघि बुधबार का प्रचण्ड–नेपाल समूहले गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षणात्मक ‘ब्रिफिङ’ गरेका थिए । साथै साउन २१ गते उनीहरुले पार्टीभित्र देखिएको विवादबारे पत्रकारलाई जानकारी गराएका थिए।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राखिरहेका छन् भने ओली समूहले राजीनामा नदिने अडान यथावत राख्दा नेकपाको विवाद मिल्न सकेको छैन ।
सामाजिक सञ्जालमा एकअर्काविरुद्ध कार्यकर्ताहरुले विषवमन गरिरहँदा नेतृत्वकर्ताको दैनिक भेटवार्ता परिणामुखी बन्न सकेको छैन । स्थायी कमिटी बैठक अनिश्चिकालका लागि ओलीले स्थगित गरिएपछि ओली–प्रचण्डबीचको वार्ता पनि पातलिएको छ । बिहीबार ओली–प्रचण्डबीचको छलफल सकारात्मक भएको नेताहरुको प्रतिक्रिया छ ।