आईपीएलमा खेल्ने मौका नपाएको कारण आत्महत्या

Sports

इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने मौका नपाएपछि मुम्बईका एक क्लब क्रिकेटरले आत्महत्या गरेका छन। २७ बर्षीय करण तिवारीले सोमबार राति मालाडा स्थित उनको घरको सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेको उनको एक साथीले जनाएका छन ।

मिड–डे रिपोर्टका अनुसार करणको साथीले आईपीएलमा खेल्ने मौका नपाएकोमा उनी उदास भएको बताएका छन। यसैबिच प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेर अनुसन्धान सुरु गरेको जनाएको छ।

तिवारीले मुम्बई स्थित वानखेडे स्टेडियममा आइपीएलका केही टोलीहरूका लागि नेटमा बलिङ गरेका थिए। उनी राज्यको टोलीमा स्थान बनाउने प्रयासमा रहेका थिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को नियम अनुसार राज्य टोलीमा प्रतिनिधित्व गर्ने खेलाडीले आईपीएल लिलामीमा भाग लिन सक्ने नियम रहेको छ ।

रिपोर्टका अनुसार तिवारीले आफ्नो साथीलाई आत्महत्या गर्ने बारेमा जानकारी दिएका थिए र उनको साथीले तिवारीकी बहिनीलाई खबर गरे। तिवारीकी बहिनीले आफ्नी आमालाई खबर गरिन, तर त्यतिखेर सम्म ढिलो भइसकेको थियो र उनी अस्पताल पुग्नु अघिनै मृत घोषित भईसकेका थिए ।