भारतमा कोभिड-१९ को पहिलो फेजको क्लिनिकल ट्रायल सफल भएको बताइएको छ । भ्याक्सिनको शुरूआती परीक्षणमा पूर्ण रूपमा सुरक्षित पाइएको हो ।
भारत बायोटेक-आईसीएमआरले बनाएको कोरोना भ्याक्सिन सफल देखिएको हो । भारत बायोटेक र जायडस क्याडिलाको भ्याक्सिनको ६ शहरमा ह्युमन ट्रायल भइरहेको छ ।
भारतका १२ शहरका ३७५ भोलिन्टियर्सलाई उक्त भ्याक्सिन परीक्षण गरिएको थियो। प्रत्येक भोलिन्टियर्सलाई भ्याक्सिनको दुई डोज दिइएको छ। हाल उनीहरूमाथि निरीक्षण राखिएको छ ।
पीजीआई रोहतकमा चलिरहेको परीक्षणको टोली नेता सबिता बर्माले भनिन्, ‘‘भ्याक्सिन सुरक्षित छ । हामीले जति पनि भोलिन्टियर्सलाई यो भ्याक्सिन लगायौं, तिनमा साइड इफेक्ट देखिएको छैन ।’’ अब भोलिन्टियर्सलाई दोस्रो चरणको भ्याक्सिन दिइने तयारी छ ।
त्यसअघि भोलिन्टियर्सहरूको रगतको नमूना लिएर त्यसमा भ्याक्सिनको प्रतिरोध क्षमता परीक्षण गरिने छ ।
बर्मा भन्छिन्, ‘‘अब हामी निश्चित भएका छौं, भ्याक्सिन पूर्ण रुपमा सुरक्षित छ। अब दोस्रो चरणमा भ्याक्सिन कति प्रभावकारी छ भन्ने पत्ता लगाउने छौं। त्यसका निम्ति हामीले ब्लड स्याम्पल लिन शुरू गरेका छौं ।’’
अखिल भारतीय आयुर्विज्ञान संस्थान दिल्लीका प्रमुख अन्वेषक सञ्जय राय पनि यो भ्याक्सिन सुरक्षित रहेको बताउँछन् । एम्स (एआईआईएमएस) मा भारत बायोटेकको भ्याक्सिन परीक्षणका लागि १६ जना भोलिन्टियर्सलाई भर्ना गरिएको थियो ।
विश्वका अन्य कतिपय मुलुकसँगै भारत पनि कोरोना भ्याक्सिन बनाउन लागिपरेको छ। कोभ्याक्सिनबारे भारत सरकारले नियमन गरिरहेको छ । यो भ्याक्सिन भारतको पहिलो हो र यसलाई भारतीय चिकित्सा अनुसन्धान परिषद्को सहयोगमा विकसित गरिएको हो ।