सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोग्रस्त क्षेत्रको गृहमन्त्री रामबहादुर थापाले अवलोकन गर्नु भएको छ । सो क्रममा उहाँले पीडित परिवारलाई केही राहत पनि वितरण समेत गर्नुभएको थियो । आज विहान लिदीमा गएको पहिरोमा ३७ घर पुरिएका थिए । जसमा ३८ जना परेका थिए । पुरिएकामध्ये अहिलेसम्म ११ जनाको शव निकालिसकिएको छ ।
गृहमन्त्री थापा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा लिदी पुग्नु भएको थियो । गृहमन्त्री थापाले पहिरो प्रभावितहरूका लागि ४० वटा त्रिपाल, ४० वटा टेन्ट र म्याट्रेस राहत स्वरुप हस्तान्तरण गरेको पहिरो प्रभावित क्षेत्रमै रहेकी जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तमाङले बताइन् ।
पहिरो प्रभावित क्षेत्रका स्थानीयले गृहमन्त्री समक्ष बस्ती सारेर आफूहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन माग गरेका थिए । जवाफमा गृहमन्त्री थापाले चाँडै नै उपयुक्त ठाउँमा बस्ती सार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको उपाध्यक्ष तामाङले बताइन् ।
गृहमन्त्री घटनास्थल पुगेपछि शोकसभा पनि गरिएको थियो । जहाँ गृहमन्त्रीले पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । जिल्ला विपद् व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकले लिदीमा पहिरोमा परेर मृत्यु भएकाहरूलाई दामसाही रूपमा बाँड्ने गरी दुई लाख रूपैयाँ उपलब्ध गराएको तमाङले जानकारी दिइन् ।