कोरोना संक्रमित बढेपछि अस्पतालहरूमा बेडको नै अभाव हुन थालेपछि स्वास्थ्य मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई पनि छुट्टै कोरोना उपचार कक्ष संचालन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरका निजी मेडिकल कलेजहरूलाई स्वीकृत बेड (शैया) को कम्तीमा एक तिहाइ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्टयाउन भनेको हो ।
आज (शनिवार) थप ४६८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।