संघीय सांसदले लगाउने नक्सा अंकित लोगोको मूल्य साढे ५ हजार

News

संसद सचिवालयले आइतबार नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीलाई वितरण गरेको छ ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेर सो वितरण प्रक्रियाको सुरुवात गरेका हुन् ।

संसद सचिवालयका अनुसार सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आजैदेखि नयाँ लोगो लगाउन सुरु गरेका छन् । गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको संसद सचिवालयले जनाएको छ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो वितरणका बेला सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संसद सचिवालयका कर्मचारी सापकोटाको कार्यकक्षमा ।

लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको महासचिव गौतमले जानकारी दिएका छन् ।

संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्सा अंकित लोगो आइतबारदेखि नै उपलब्ध गराइने सचिवालयले जनाएको छ । हाल प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ ।