सर्लाहीमा भदौ ७ सम्म थपियो निषेधाज्ञा, संक्रमण रोक्न कडाइ गरिने

Health-Education

सर्लाहीमा जारी निषेधाज्ञा भदौ ७ गते सम्मका लागि लम्बिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सिसिएमसी) को (आज) आइतबार दिउँसो सदरमुकाम मलंगवामा बसेको बैठकले निषेधाज्ञाको समय बढाएर कडाइसाथ लागु गरिने निर्णय गरेको हो। परीक्षणको दायरा बढाइएसँगै मलंगवा, हरिवन, बरहथवा, लालबन्दी लगायतका स्थानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा संक्रमण पाइएकाले समुदायस्तरमै संक्रमण फैलिसकेको सिसिएमसीको बैठकले ठहर गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ। खाद्यान्न र तरकारी पसलका सन्दर्भमा साताको तीन दिन सोमवार, बुधवार र शुक्रबार दिउँसो ४ देखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्न भनिएको छ। यस्तै स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्यबाहेक अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयबाट प्रदान गरिने सेवा बन्द गर्ने निर्णय भएको छ। सर्लाहीमा साउन २६ गतेदेखि निषेधाज्ञा जारी छ। यस्तै सिसिएमसीको आजको बैठकले लकडाउन लम्ब्याएर भदौ ७ गतेसम्मका लागि पु¥याएको छ। हालसम्म सर्लाहीमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ९ सय ५९ जनामा संक्रमण पाइएको छ।