नेपालमा कोरोना पुष्टि भएको दिन ९ माघदेखि नै सरकारले ५० वर्षभन्दा माथिका वृद्धवृद्धासम्म संक्रमण पुग्न रोक्नुपर्ने बताउँदै आएको छ । तर, काठमाडौं उपत्यकामै कोरोना देखिएकामध्ये १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौं उपत्यकमा एक हजार नौ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये दुई सय ८० अर्थात् १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् । देशका अन्य जिल्लाको तुलनामा यो धेरै हो । पछिल्लो एक महिनामा ठूलो संख्यामा उपत्यकामा वृद्धवृद्धा संक्रमित हुनुले घरघरमा कोरोना पुगेको चिकित्सकहरूको अनुमान छ ।
वृद्धवृद्धा धेरै संक्रमित भएका जिल्ला
काठमाडौं
संक्रमित – १,५६७ (१९६७)
वृद्धवृद्धा – २२२ (१४ प्रतिशत)
ललितपुर
संक्रमित – २६८
वृद्धवृद्धा – ४८ (१७ प्रतिशत)
भक्तपुर
संक्रमित – १३२
वृद्धवृद्धा – १० (सात प्रतिशत)
पर्सा
संक्रमित – १,३८४
वृद्धवृद्धा – २४० (१७ प्रतिशत)
महोत्तरी
संक्रमित – ९९९
वृद्धवृद्धा – १४३ (१४ प्रतिशत)
देशभर पनि २६ हजार ६ सय ६० संक्रमितमध्ये दुई हजार एक सय ६९ जना अर्थात् आठ प्रतिशत वृद्धवृद्धा छन् । देशभर एक सय चारजनाको र उपत्यकामा नौजनाको मृत्यु भएको छ । उपत्यकामा मृत्यु भएका अधिकांश ५० वर्षभन्दा माथिका छन् । उपत्यकामा एक महिनायता बढेको संक्रमण सात प्रतिशत वृद्धवृद्धामा फैलिनुलाई स्वास्थ्य संकटका रूपमा चिकित्सकले हेरेका छन् ।