मलेसियामा देखियो अहिलेको भन्दा १० गुणा बढी खतरनाक कोरोना

Health-Education

मलेसियामा कोरोना भाइरसको यस्तो रूप देखिएको छ, जुन अहिलेको भन्दा १० गुणा खतरनाक छ । यसको नाम डी६१४जी दिइएको छ । यो भाइरस पहिलो पटक गत जुलाईमा देखिएको थियो ।

कोरोनाको यो रूप ४५ जना संक्रमितमध्ये ३ जनामा पाइएको छ । मलेसियामा भारतबाट फर्किएका एक रेस्टुरेन्ट मालिकमार्फत यो कोरोना फैलिएको बताइएको छ । उनी यात्रापछि १४ दिन होम क्वारेन्टाइनमा समेत नबसेको बताइएको छ ।

कोरोना संक्रमणको त्रासबीच क्वारेन्टाइनमा नबस्ने ती व्यक्तिलाई ५ महिना जेल र जरिमानाको फैसला सुनाइएको छ । भाइरसको यही रूप (स्ट्रेन) फिलिपिन्सबाट फर्किएका एक समूहमा पनि पाइएको थियो ।

मलेसियाका स्वास्थ्य महानिर्देशक नुर हिसाम अब्दुल्लाका अनुसार कोरोनाको जुन रूप (स्ट्रेन) देखिन्छ, त्यसका केही अर्थ हुन्छन् । कोरोनाले रूप बदल्दा त्यसको असर खोपको क्षमतामा पनि पर्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाको रूपमा सबैभन्दा बढी परिवर्तन युरोप र अमेरिकामा देखिएको छ । तर, यहाँको यो परिवर्तन खतरनाक साबित हुनेछैन । सेल प्रेस जर्नलमा प्रकाशित शोधका अनुसार कोरोनाको यस्ता रूपको खोपको क्षमतामा गहिरो असर पर्ने आशंका कम नै गरिएको छ ।

स्वास्थ्य महानिर्देशक हेल्थ नुर हिसामका अनुसार कोरोनाको यो रूप परिवर्तन मलेसियामा देखिनु चिन्ताजनक हो र अत्यधिक सावधानी अपनाउनु आवश्यक छ । उनले म्युटेसनका कारण यस प्रकारको संक्रमण बढिरहेको र यसको ‘चेन’ तोड्नका लागि जनताको सहयोग आवश्यक भएको बताएका छन् । संसारमा कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम गर्ने देशमध्ये मलेसिया पनि एक हो । २९ जुलाईदेखि १६ अगस्टसम्म मलेसियामा २६ जनामा मात्र संक्रमित पाइएका थिए । भाइरसमा नयाँ परिवर्तन (स्ट्रेन) देखिएपछि जनतालाई सतर्कता अपनाउन भनिएको छ ।