काठमाडौं उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा लागू गर्ने तयारी भएको छ।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्। संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको छ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गत ३० गते रातिदेखि लागू हुने गरी विभिन्न आदेशहरू दिएका थिए। अत्यावश्यक बाहेकका पसल बन्द गर्न, भिडभाड, जात्रा, सभा, जुलुस, महोत्सव जस्ता गतिविधि नगर्न, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न आम सर्वसाधारणलाई आग्रह गरिएको थियो। तर भीडभाड नरोकिने र कतिपय मानिस स्वास्थ्यका मापदण्ड पालना गर्न आनाकानी गर्ने गर्न थालेपछि थप कडाइ गर्नुपर्ने अवस्था आएको छ।
तीनवटै जिल्ला प्रशासन कार्यालयहरु गृहमन्त्रालयको निर्देशनको पर्खाइमा रहेको र निर्देशन नआए आफै निर्णय लिने तयारीमा रहेको छ।