दुई साता पहिले धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भयो। उनीहरूको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेका अन्य सम्भावित संक्रमितको पनि खोजी हुन थाल्यो।
खोजी गर्ने क्रममा एकै परिवारका ६ जना सदस्यसम्म कोरोना संक्रमित रहेको पुष्टि भएको छ। स्वास्थ्यकर्मीको आवतजावत हुने स्थान तथा सम्पर्कमा रहेका व्यक्तिहरुको जाँच गर्ने क्रममा साउनको अन्तिम साता बागलुङ नगरपालिका–३ मा कुखुरा फार्म सञ्चालन गर्ने एक महिलामा कोरोना रहेको पुष्टि भयो।
उनी धौलागिरि अस्पतालले गरेको कन्ट्याक्ट ट्रेसिङमा परेकी थिइन्। उनीभन्दा पहिला बागलुङ बजारमा नै व्यवसाय गरेर बस्ने एक महिलामा संक्रमण देखिएको थियो। त्यसपछि ट्रेसिङ थालिएको थियो।
संक्रमित पुष्टि भएकी महिलाको घरमा ट्रेसिङका लागि पुगेको स्वास्थ्यकर्मीको टोलीलाई परिवारले स्वाब दिन मानेनन्। बागलुङ नगरपालिकाको आग्रहमा प्रहरीले परिवारको स्वाब संकलन गर्न दबाब दियो।
भदौ एक गते प्रहरीको सहायतामा बलजफ्ती स्वाब संकलन गरिएका परिवारका सबै सदस्यमा कोरोना पुष्टि भएको हो। क्षयरोग उपचार केन्द्र पोखरामा रहेको प्रयोगशालाले स्वाब परीक्षण गरी बुधबार सो परिवारका सबै संक्रमित रहेको रिपोर्ट पठाएको छ।
यससँगै बुधबार एकै परिवारका ६ जनासहित बागलुङमा ८ जना नयाँ संक्रमित थपिए। सो परिवारका बालकदेखि वृद्धसम्म सबै संक्रमित रहेको खुलेको छ। वडिगाड गाउँपालिकामा १ जना र जैमिनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसअघि सोही परिवारकी एक महिलामा संक्रमण देखिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए।
बागलुङमा एकै परिवारका धेरै मानिस संक्रमित भएको यो पहिलो घटना हो। वडिगाड गाउँपालिकामा संक्रमण पुष्टि भएका एक जनासमेत क्वारेन्टाइन बाहिरै रहेका नागरिक हुन।
‘अब हामीबाट होइन, समुदायबाटै हामीमा कोरोना आएको रहेछ कि भन्ने लाग्न थाल्यो,’ धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका एक स्वास्थ्यकर्मीले भने, ‘हाम्रो सम्पर्कभन्दा बाहिर यति छिटो कोरोना फैलनुको अर्थ बाहिरबाटै हामीमा संक्रमण सरेको हो जस्तो लाग्न थालेको छ।’ सfमान्य सजगता पनि अपनाउन नसकेका कारण संक्रमण त्रास बढेको उनी बताउँछन्।