भदौ शुक्ल चतुर्थीका दिन आज गणेश चतुर्थी तथा चथा पर्व आज मनाइँदै छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ ।
गणेश चतुर्थी :
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाइने गरिएको हो । शुक्रबार तीजको व्रत लिनेहरुको गणेशको व्रत गर्ने चलन छ ।भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने गर्दछन् ।
विगत वर्षहरुमा आजको दिन उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा हुने गरेको थियो । कोरोना त्रासले यो पटक सरकारले निषेधाज्ञा जारी गरेकाले नियमित पुजा मात्रै हुँदैछ ।
यो पटक सरकारले घरमै गणेशको पूजा आराधना गर्न आग्रह गरेको छ ।यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजाधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि हुने गरेको थियो । यो वर्ष भने कोरोनाबाट बच्न जारी निषेधाज्ञा र बन्दाबन्दीका कारण रथयात्रा स्थगित गरिएको छ ।
उता, मिथिला क्षेत्रका महिलाले आज चौरचन पर्व मनाउँदै छन् । भाद्र शुक्ल पक्षको चौथीका दिन मनाइने यो पर्वमा व्रतालुले आज दिनभर निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्ने गर्दछन् ।
चथा:
भदौ शुक्ल चतुर्थी, मङ्गल चतुर्थी तथा चन्द्रमास पात्रो अनुसार हरेक वर्ष ” ञँला/ यँलाथ्व चतुर्थीको दिन नेवा: समुदायले ” चथा: चख” मनाउने गर्दछ। यसै तिथिमा श्री गणेशको जन्म भएकोले अरु समुदायमा यो दिन ” गणेश चतुर्थी”ले प्रख्यात छ। किम्बदन्ती अनुसार अरुको उर्जाबाट उर्जा प्राप्त गर्ने चन्द्रमाले यसै दिन गणेशको खिसी उडाएको र रीसमा चन्द्रमालाई उर्जा हराउने र तेज क्षीण भै जसले चन्द्रमा हेर्छ उसलाई चोर दोषको मिथ्या लाग्ने श्राप दिएको कथन छ। चथा: एउटा चख: (पर्व हो भने यसपछि आउने येँया पुन्ही नख: (चाड) हो । चख: नै भएतापनी चथा: जसरी मनाइयो, मोहनी ( दशैँ पनि त्यस्तै हुने मान्यताका कारण नेवार समुदायमा चथा:लाई एकदमै महत्वका साथ मनाइन्छ। यस दिन पानी पर्यो भने मोहनी बेला पनि पानी पर्ने विश्वास गरिन्छ । यस दिन नेवा: समुदायले सिहंमा आरुढ भएका विषेश गणेशको पुजा गर्दछन भने राती चन्द्रमा उदाएपछी इन्द्रलाई पुजा भाग हाल्ने गरिन्छ। काठमाडौको किम्बदन्ती अनुसार यसै दिन आफ्नो आमाको व्रतका लागि इन्द्र देव स्वर्गबाट रातको समयमा यहाँ आइ एरावतलाई एक ठाउँमा राखी विष्णुमती र भद्रमतीको संगम निर्मल तिर्थको दर्शन गरि पारिजात फूल चोर्न आएको मानिन्छ। चोरेको देख्दै गर्दा उनलाई चोर भनी सबैले देख्ने गरि बाँधेर राखी खान साह्रो हुने भुटेको मकै, भटमास, बकुला, आरुको बियाँ, फर्सीको बियाँ आदि खुवाएको कथा छ। यसै अनुरुप आजको दिन कौसीमा राती कुसा लप्तेमा ( ठुलो पात) मा यिनै चिजहरु हालेर भाग राख्ने गरिन्छ र परिवार सबै मिलेर खाने गरिन्छ। रातमा कुकुरहरु भुक्न थालेपछि र स्यालहरु कराउन थाले पछि खुँ द्य: ( चोर देवता/ इन्द्र ) आए भनेर घरका खापा र झ्याल सबै बन्द गर्ने चलन पनि रहेको छ। आजकै रात इन्द्रले फूल चोरी फलफूल चोरेर खाँदा चन्द्रमा साक्षी बसे पनि मौन रहेको कारण यस दिन फलफूल चोरे पाप नलाग्ने विश्वास गरिन्छ र रातको समयमा फलफूल चोर्न जाने रोचक परम्परा छ। चोर्दा खेरि साक्षी बसेका चन्द्रमा मौन बसि इन्द्रलाइ सहयोग गरी बचाएकोले नेवा: समुदायमा यस दिन चन्द्रमालाई रीसले उल्टो पुजा गरि साह्रो खानेकुरा चढाई नहेर्ने परम्परा छ । साथै यस दिन टोलटोलमा मन्दिर अगाडि हलिमली (मिसाएको भुटेको मकै, भटमास, बकुला, आरुको बियाँ, फर्सीको बियाँ आदि ) राखी दाफा भजन गरेर प्रसाद बाँडेर खाने चलन छ।