दमक झापा नवगठित नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारी पुराना कम्युनिस्ट नेता हरि भेटवालकी बुहारी हुन्।साबिक विराटनगर-६ हाल विराटनगर महानगरपालिका-५ माइती भएकी उनी हाल काठमाडौंमा बसोबास गर्छिन्। हरिका छोरा मनोजसँग वैवाहिक जीवनमा बाँधिएकी उनी ससुराको निधनपछि काठमाडौं गएकी हुन्। सामान्य परिवारमा जन्मेकी सन्ध्याको खासै राजनीति लगानी र अनुभव छैन।
ससुरा हरि भेटवाल तत्कालीन शिवगञ्ज गाविसको २५ वर्ष गाविस अध्यक्ष भएका व्यक्ति हुन्।
साविक शिवगञ्ज १ हाल शिवसताक्षी नगरपालिका- ६ शिवगञ्ज घर भएको भेटवाल परिवार घरजग्गा बेचेर काठमाडौं गएको हो। र, उनीहरूले लामो समय काठमाडौंको शंखमुलमा बसोबास गरेको र अहिले त्यहाँबाट सरेको बताइन्छ। हाल उनी भक्तपुर लाेकन्थली नगर टाेलमा बस्छिन् ।
साविक शिवगञ्जमा केही खेती बाँकी भएको पुराना छिमेकीहरूको भनाइ छ। करिब डेढ दशक अघि ससुरा हरीको निधन भएपछि उनीहरू काठमाडौं गएको बताइन्छ। २०५१ सालमा सन्ध्याको बिवाह भएको बताइन्छ। उनको सानै उमेरमा बिहे भएको माइती पक्षको भनाइ छ।उनी शिवगञ्ज रहदासम्म खास राजनीतिमा चासो राख्ने व्यक्ति नभएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।
सानै उमेरदेखि राजनीति गर्ने सोच राखेको र विगतमा राजनीति नगरे पनि सानैदेखिको इच्छा पूरा गर्न दल दर्ता गराएको जवाफ दिने गरेको माइतीलाई उल्लेख गर्दै एकजना सञ्चारकर्मीले बताए। सन्ध्याले केही समय शिक्षण समेत गरेकी थिइन्।