राजधानीको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेको विषयमा दुई पक्षबीच सहमति भएको छ । शनिबार मिनचोकमा रहेको बुद्ध ब्वाइज होस्टेलमा सिभिल अस्पतालका स्टाफका लागि अनुमति बिना क्वारेन्टाइनमा राखेको भन्दै स्थानीयले विरोध गरेका थिए ।
सो प्रकरणमा ३१ नम्बर वडा कार्यालय, स्थानीय बासिन्दा र बलभद्र टोल सुधार समितिलाई औपचारिक जानकारी नभएको कारण होस्टेल सञ्चालक र टोल सुधार समितिका पदाधिकारी बीच असमझदारी सिर्जना भएको काठमाडौँ महानगरपालिका ३१ नम्बरस्थित वडा कार्यालयलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

होस्टलमा बस्ने कर्मचारीहरुले होस्टेल अगाडि हुलहुज्जत हुँदा अफ्ठ्यारो, असहज महसुस गरेको तर कसैबाट दुर्व्यवहार हातपात नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समस्या समाधानका लागि वडा कार्यालय, बलभ्रद टोल सुधार समितिका प्रतिनिधि, अस्पतालका प्रतिनिधि र होस्टल सञ्चालकबीच छलफलबाट होस्टल सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ ।
शनिवार होस्टेलमा डाक्टर तथा नर्स राखेको भन्दै स्थानीय र टोलसुधार समितिका व्यक्तिहरुले विरोध गर्दै घर घेराउ गरेको समाचार बाहिरिएको थियो ।