३ महिनाको शिशुमा कोरोना : आमाको रिपोर्ट नेगेटिभ

Health-Education

भक्तपुरमा बुधबार ३ महिने एक शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भक्तपुरको सूर्यविनायक नपा २ बालकोटका ती बच्चालाई कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा बुधबार संक्रमण पुष्टि भएको हो।

कन्ट्याक्ट ट्रेसिङ गर्दा ती बच्चासँगै उनकै सात वर्षीय दाजुमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको सूर्यविनायक नपा स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले जानकारी दिए।

दुई बच्चाका आमाको कोरोना भाइरस परीक्षण भने नेगेटिभ आएको उनले बताए।

प्रमुख चापागाईंका अनुसार यसअघि ती बच्चाका बाबु र काका गरी एकै परिवारका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

‘बाबु र काकालाई संक्रमण भएपछि कन्ट्याक्ट टे«सिङ गर्दा बुधबार दुई छोरामा संक्रमण भएको पुष्टि भयो’, उनले भने, ‘आमाको परीक्षणको रिपोर्ट भने नेगेटिभ आयो।’

संक्रमण पुष्टि भएपछि उनीहरुलाई होम आइसोलेसनमै राखिएको छ। उनीहरुमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको प्रमुख चापागाईंले जानकारी दिए।