नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा शुक्रबार अपरान्ह विष्फोट भएको छ। ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ। एक स्थानीय ग्यारेजमा राखिएको ट्यांकर दिउँसो विष्फोट भएको हो। नेपाल आयल निगम प्रदेश १ कार्यालय नजिकैको रामअवतार मोटर्स ग्यारेजमा राखिएको खाली ट्याङ्कर विष्फोट भएको हो। यस घटनामा मानवीय क्षति हुन नपाएको मोरङ प्रहरीले जनाएको छ। ठूलो आवाजमा विष्फोट भएपछि नजिकका बस्तीका घरहरु भूकम्पले हल्लाए झैँ हल्लिएका थिए। मोटर्स ग्यारेज आसपासका दुई वर्षका शिशुसहित तीनजना बेहोससमेत भएका थिए। उनीहरुको अवस्था अहिले सामान्य रहेको स्थानीय कीर्तिराज कार्कीले जानकारी दिए। अन्य बेहोस हुने ग्यारेजमा काम गर्ने मजदुर रहेका छन्। विष्फोटपछि स्थानीय त्रसित भएका छन्। ग्यारेज नजिकका केही घरमा पनि समान्य क्षति भएको छ। विस्फोटमा स्थानीयको घरको टिनको छाना उप्किएको थियो । ट्यांकरबाट इन्धन खन्न्याएर खाली भएकाले ठूलो क्षति भने जोगिएको प्रहरीले जनाएको छ।