पसलको विषयमा विवाद भएपछि एक जनाको हत्या

Crime

दार्चुलामा धारिलो हतियार (दाउ)ले हानेर एक जनाको हत्या भएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर २ तिम्लाबगरमा पसल सञ्चालन गरिरहेका ४४ वर्षीय गोविन्द भट्टले सोही नगरपालिकाको वडा नम्बर १ बलाच घर भएका ४८ वर्षीय शेर बहादुर चन्दलाई दाउले घाँटीमा हानेपछि उनको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो १२ बजे पसलको विषयमा विवाद भएपछि बाँख्रा काट्ने हतियारले घाँटीमा हान्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदम सिंह विष्टले बताउनु भयो ।

‘पसल बन्द गरेर घरभित्र बसेर दुबैले मापसे गरेका रहेछन् । विवाद भएपछि भट्टले चन्दको घाँटीमा दाउले घाँटी काटेको रहेछ  विष्टले बताउनु भयो ।

घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घाइतेलाई घटनास्थलबाट प्रहरीले अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको विष्टले जानकारी दिनुभयो । भट्टलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।