अर्थ तथा सञ्चारमन्त्री खतिवडाले निरन्तरता पाउलान् त ?

Politics

अर्थ तथा सञ्चार मन्त्रालय सम्हालिरहेका डा. युवराज खतिवडाको यही २० गते कार्यकाल सकिन लागेको छ। तर, खतिवडालाई निरन्तरता दिने या नदिने बिषयमा अझै ओली-दाहाल अनिर्णित छन्। राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो।

तर, संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बन्‍न पाउँछ। त्यही व्यवस्थाअनुसार अनुसार उनी भदौ २० पछि मनोनित नभए स्वत: विदा हुन्छन्। अहिले उनले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

यद्यपी, खतिवडाको अझै मन्त्रीमा निरन्तरताको सम्भावना सकिएको छैन। गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेका थियो।

तर, प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई अस्विकार गरेपछि राष्टिय सभाको मनोनित सदस्य अझै खाली नै छ। अध्यक्ष दाहाल सहितको सचिवालयको बहुमत सदस्य सचिवालयको निर्णय कार्यान्वयन गराउनुपर्ने पक्षमा उभिएका थिए।

तर, प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई इन्कार गरेपछि अझै त्यो कोटा खाली छ। त्यहाँ अब गौतम या खतिवडा कसलाई पठाउने भन्‍नेबारे नेकपाले अझै निर्णय लिन सकेका छैन। तर, बहुमत सदस्य गौतमको पक्षमा भएकाले खतिवडा पुनः दोहोरिने सम्भावना कम छ।