कोरोना संक्रमण रोकथामका लागि सरकारले लागू गरेका प्रतिबन्धहरूका विरुद्धमा जर्मनीको राजधानी बर्लिनमा सडक प्रदर्शनहरू भएपछि प्रहरीले तीन सयजना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ।
करिब ३८ हजार मानिस प्रदर्शनहरुमा सहभागी भएका थिए। एउटा विरोध प्रदर्शनबाटै झण्डै दुई सयजनालाई हिरासतमा लिइएको छ। उक्त प्रदर्शनमा दक्षिणपन्थी धारका मानिसहरू सामेल भएको र तिनीहरूले ढुङ्गा र बोतलहरू फ्याँकेको आरोप अधिकारीहरूको लगाएका छन्।
सोही प्रकारका विरोध प्रदर्शनहरू फ्रान्सको प्यारिस, अष्ट्रियाको भियना, स्वीट्जरल्याण्डको ज्यूरिख लगायतका अन्य यूरोपेली शहरहरूमा पनि भएका छन्।
लण्डनको ट्र्याफ्याल्गर स्क्वायरमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरूका विरुद्धमा मानिसहरूले प्रदर्शनहरू गरेका छन्। केही प्रदर्शनकारीहरूले भाइरसलाई बढाइँचढाइँ गरिएको पनि भनेका थिए।