नेपाल राष्ट्र बैंकले अन्तर बकैं एटिएमको कारोबारमा शुल्क लिन नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले पेमेन्ट तथा सेटलमेन्टको एकिकृत निर्देशिका मार्फत यस्तो व्यवस्था गरेको हो ।
यसभन्दा अघि केन्द्रीय बैंकले कोरोना महामारी सुरुभएपछि नेपाल सरकारले लकडाउन गरेपछि अन्तर बैंक एटिएमको कारोबारमा शुल्क लिन नपाईने व्यवस्था गरेको थियो । यो व्यवस्थालाइ आगामी दिनहरुमा पनि निरन्रता दिन अन्तर बैंक शूल्क लिन नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
निर्देशनमा भनिएको छ,“ एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन ।”
विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्टरूपमा उल्लेख गर्नुपर्ने निर्देशनमा उल्लेख गरेको छ ।
तर, त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइने छैन । साथै, कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएस मार्फत जानकारी दिनुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले जनाएको छ ।