मोदी नीतिले संकटमा भारत

International

दक्षिणपन्थी राष्ट्रवादी रुझान राख्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जारी कोरोना महामारी र गिर्दो अर्थव्यवस्थाले रक्षात्मक अवस्थामा पुर्‍याइदिएको छ। सबै प्रमुख आर्थिक क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको छ। अर्थतन्त्रमा २३.९ प्रतिशतको नकारात्मक गिरावट आएको छ।

कांग्रेस नेतृत्वको पूर्ववर्ती सरकारप्रति निकै खनिने गरेका मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) अनियन्त्रित महामारी र जर्जर अर्थतन्त्रका कारण यतिखेर आफ्नै प्रतिरक्षा गर्न नसक्ने अवस्थामा पुगेका छन्।

छिमेकीहरूसँग युद्धउन्मादपूर्ण व्यवहार गरिरहेका मोदीलाई चीनले गलवान घाँटीमा झन्डै दुई दर्जन मारिदिएपछि झनै अप्ठ्यारो परेको छ।

यतिखेर भारतको आर्थिक वृद्धिदर शून्यभन्दा तल पुगेको छ। दिनहुँ कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहेको छ। निकै खराब असर भोगिरहेका देशको सूचीमा भारत तेस्रो स्थानमा छ।

तीव्र गतिमा संक्रमण फैलिरहेकाले अब छिट्टै ब्राजिललाई पनि उछिन्ने पक्कापक्की छ।

जस्तासुकै तर्क या कुतर्क गरेर प्रतिपक्षीभन्दा उँचो देखिन मोदीले निकै प्रयास गरेका थिए। उनको दलका नेता÷कार्यकर्ताको असहिष्णु व्यवहार पछिल्लो चुनाव यता झनै बढिरहेको थियो।

तर अहिले स्थिति उल्टिएको छ। संकटका बेला शासकले दिनुपर्ने परीक्षामा मोदी नराम्ररी अनुत्तीर्ण भएका छन्। पूर्व वित्तमन्त्री एवम् प्रतिपक्षी कांग्रेस नेता पी चिदम्बरमले मोदी सरकार कोरोनासँग जुध्न असफल रहेको भन्दै धावा बोलिसकेका छन्। साथै कुल गाहर्स्थ उत्पादन मोदीको नीतिकै कारण नराम्ररी तल झरेको चिदम्बरमको दावी छ।

उनले भनेका छन्, ‘विश्वभरका अर्थशास्त्रीहरुसँगै हामीले पनि भारतको अर्थव्यवस्थाप्रति ध्यान दिन मोदी सरकारलाई ध्यानाकर्षण गराएका थियौं, तर सरकारले यसो गरेन।’

भारतको केन्द्रीय तथ्यांक मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात अप्रिलदेखि जुनसम्म भारतको जीडीपीमा २३ दशमलव ९ प्रतिशतले गिरावट आएको छ।

तर, प्रधानमन्त्री मोदी र वित्तमन्त्री निर्मला सिथारमनले विशेषज्ञहरूको सल्लाहलाई नजरअन्दाज गरेको आरोप लागिरहेको छ। महामारी प्रतिकार्य गर्न र साविक स्थितिमै धर्मराएको अर्थव्यवस्थालाई स्थिर राख्ने प्रयास गर्नुको सट्टा सत्ता अहंकार मात्रै देखाएको प्रतिपक्षीहरु बताउँछन्।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ)ले हालै सरकारलाई सन् २०२० को पहिलो अर्ध-वार्षिक अवधिमा सन् २००८ को आर्थिक मन्दीभन्दा पनि बढी असर पर्ने जानकारी गराएको छ। तर यो चेतावनी निकै ढिलामात्र सार्वजनिक भएको छ। मोदीको प्रचार लोकप्रियतालाई असर हुन नदिन सरकारले नै केन्द्रीय बैंकलाई अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्न नदिएको भनिएको छ।

जनवरीदेखि मार्च महिनासम्म भारतको अर्थव्यवस्थामा जम्मा ३.१ प्रतिशतको वृद्धि देखिएको थियो, जुन विगत आठ वर्ष यताकै कम हो। आँकडाअनुसार मार्चयता उपभोक्ता गर्न निकै कम भएको छ। यसको सीधा पृष्ठभूमि मोदीले साविक अवस्थामा पर्याप्त रोजगारी सृजना गर्न नसक्नुसँग जोडिएको छ।

अझ, महामारीका कारण तथ्यांकमा गडबढी गर्न नसकेपछि सरकारका जिम्मेवारी अधिकारीहरुले अर्थतन्त्रको वास्तविक आंकडा नै एकत्रित पार्न नसकिएको तर्क गर्न थालेका छन्।

एक वर्षभित्र देशमा उत्पादन हुने सबै वस्तु र सेवाको कूल मुल्य नै कुल गाहर्स्थ उत्पादन हो। जीडीपी घट्नुको अर्थ त्यहाँ वस्तु र सेवा उत्पादन हुन नसक्नु तथा त्यसले मुल्य नपाउनु हो भन्ने लाग्छ।