पेट्रोल पम्पमा तेल भर्ने कर्मचारीमा कोरोना, तर एक सातासम्म निर्वाध रूपमा पम्प खोलेर इन्धन वितरण

News

बाँसबारीस्थित खड्का आयल स्टोर्सका कर्मचारीमा कोराना पुष्टि भएको छ ।

सवारीसाधनमा तेल भर्ने पम्पका एक कर्मचारीमा कोरोनो देखिएको करिब एक साता भइसक्दा पनि सञ्चालक अच्युत खड्काले गम्भीर लापरबाही गरेका छन् ।

उनले आयल निगमलाई जानकारी नदिई गुपचुपमा राख्दा सो पम्पले निर्वाध रूपमा कारोबार गरिरहेको छ ।

खड्का पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको बागमती प्रदेशस्तरीय कमिटीका अध्यक्ष हुन् । उनले साताअघि पम्पमा कार्यरत सात कर्मचारी र आफ्नो पिसिआर परीक्षण गरेका थिए ।

‘त्यो परीक्षणमा एकजना कर्मचारीलाई मात्र कोराना देखियो । मसहित अन्य कर्मचारीमा केही देखिएन,’ उनले भने, ‘त्यसपछि कोरोना लागेको कर्मचारीलाई वडा कार्यालयसँगको समन्वयमा मेरै घरमा आइसोलेसनमा राखेको छु । अन्य कर्मचारीमा कोराेना नदेखिएकाले पम्प खोलेर तेल वितरण भइरहेको छ ।’

सँगै काम गर्ने कर्मचारीमा कोरोना देखिएपछि अन्यलाई सुरक्षित क्वारेन्टिनमा राख्नुपर्ने र पम्प केही दिनका लागि सिल गर्नुपर्ने हुन्छ ।

तर, खड्काले आयल निगमलाई कर्मचारीमा कोरोना देखिएकोबारे केही जानकारी नै नगराई तेल ल्याएर बिक्री गरिरहेका छन् । काठमाडौंसहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने निगमको थानकोट डिपो प्रमुख प्रदीप यादवले खड्का आयल स्टोर्सबाट कर्मचारीमा कोराना देखिएकाेबारे कुनै जानकारी नआएको बताए ।

‘यहाँ (थानकोट डिपोमा) कुनै जानकारी नै आएको छैन । नत्र त हामी नै क्रियाशील भएर आवश्यक कदम चाल्ने थियौँ,’ यादवले भने ।

सञ्चालक खड्का इन्धन वितरणमा लापरबाही गरेर बारम्बार विवादमा आउने गरेका छन् । उनले यसपटक कोरोना पुष्टि भएका कर्मचारीलाई लुकाएर इन्धन वितरण गरी संक्रमण नियन्त्रणमा अवरोध गरेका छन् ।

यद्यपि, उनले कर्मचारीमा कुनै लक्षण नदेखिएको भन्दै पम्प खोलेर कारोबार गर्न कुनै समस्या नभएको दाबी गरेका छन् ।

‘कर्मचारीमा कुनै लक्षण देखिएकै छैन । बेसार–पानी, अदुवा–पानीलगायत खाएर ठीक भइहाल्छ नि,’ उनले भने । करिब एक सातापछि वडा कार्यालयको समन्वयमा स्वास्थ्यकर्मी आएर आवश्यक परीक्षण गर्ने जानकारी दिएको उनले बताए ।

(नयाँ पत्रिकाबाट)