भरतपुर महानगरपालिका–१ बागेश्वरीस्थित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा महानगरपालिकाले बनाएको आइसोलेनस सेन्टरको भदौ १४ गते उद्घाटन गरियो । ठूलो भिडका साथ गरिएको आइसोलेसन सेन्टरको उद्घाटन कार्यक्रममा कोरोना संक्रमित नै सहभागी भएको खुलेको छ । जिल्लाभर निषेधाज्ञा लागे पनि औपचारिक कार्यक्रम नै गरी सुरुवात गरिएको आइसोलेसन सेन्टरमा संघीय सांसद, प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका प्रमुख, प्रहरी प्रमुखहरू लगायत जिल्लाका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मीको पनि उपस्थिति थियो ।
कोही पनि संक्रमित नभएको जस्तै गरी गरिएको कार्यक्रममा सहभागी एक चल्तापूर्जा व्यक्ति नै कोरोना संक्रमित भएको पुष्टि भएको छ । उनी चितवन मेडिकल कलेजको क्यान्टिन सञ्चालक पनि हुन् । उनलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको छ जसले गर्दा उनको सम्पर्कमा आएका सबै जसोको कोरोना परीक्षण गर्नुपर्ने भएको छ । चितवन मेडिकल कलेजभित्र उनले सञ्चालन गरेको क्यान्टिनमा चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनी आफैँ क्वारेन्टिनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रम र महत्वपूर्ण भेटघाटमा सहभागी हुँदै आएका थिए ।
कोरोना परीक्षणका लागि स्वाब दिएपछि रिपोर्ट नआइञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेमा उनले त्यसलाई बेवास्ता गरेका थिए । उनको क्यान्टिनका संक्रमित चार जनामध्ये एक जना उनकै घर नजिक बनाइएको छाप्रोमा बस्थे । संक्रमितसँग सम्पर्कमा आएकाहरुले केही दिनसम्म क्यान्टिन चलाएको खुल्न आएको छ । स्थानीयले उनीहरुलाई आइसोलेसनमा राख्न आग्रह गरे पनि उनले ‘तिमीहरु एमडी पढेका डाक्टर हौ ?’ भनेर धम्काउने गरेका थिए। यसरी स्वाब दिएर सार्वजनिक कार्यक्रममा हिँड्ने कोरोना संक्रमित ती ब्यक्ति नेकपा चितवनका नेतासमेत हुन् ।