रुपन्देहीको रोहिणी गाउँपालिका-३ चैनपुरवास्थित एकै घरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारका क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिका क्रममा सहभागी भएका उनीहरु सबैजनामा कोरोना पोजिटिभ देखिएको हो।
संक्रमितको अन्तिम दाहसंस्कारमा सहभागी भएका र सम्पर्कमा रहेका ७३ जनाको पिसिआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो।
एकै घर परिवारका १० जना सदस्य र चालकसहित ५ जना कामदारमा पनि कोरोना पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिए। लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राति आएको थियो।
मलामी गएका परिवारका सदस्यसहित २२ सदस्यहरुको ९ गते र ११ गते विभिन्न ४ ठाउँमा ५१ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये अहिलेसम्म १५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य प्रमुख चौधरीका अनुसार १३ वर्ष देखि ६९ वर्ष उमेर समूहका ८ पुरुष र ७ महिलामा संक्रमण देखिएको हो।