आजको रथयात्रा घटनाका अन्य कारण

News

आजको घटना हुनुमा सरकारी बेवास्ता, गुठी संस्थानको हेलचेक्राइँ र स्थानीय निकायको कमजोरी र व्यवस्थापकीय कमजोरी र थिदै थियो तर अन्य दुई कारण पनि छन्, जसमध्ये एउटा रथयात्राको परम्परासँग जोडिन्छ भने अर्को रथयात्राको किम्बदन्तीसँग:

परम्परा

यस वर्ष असोज २ गतेबाट मलमास सुरू हुँदैछ। मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन। त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन। जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई नहुने मूल पुजारी बज्राचार्य बताउँछन्।

बुंगद्य:लाई मलमास अगाडि नै बुंगमति पुर्‍याउने उद्देश्यका साथ सयौंको भीड पुल्चोकमा भेला भएको स्थानीयको भनाइ छ।

किम्बदन्ती

त्यस्तै, कुनै वर्ष रातो मच्छिन्द्रनाथको रथ तान्न सकिएन भने बुंगद्यःलाई भक्तपुर लगेर प्रतिस्थापन गराउनुपर्छ भन्ने किम्बदन्ती छ। भक्तपुरका राजा नरेन्द्रदेवको नेतृत्वमा १४ सय वर्षअघि भारतको आसामबाट रातो मच्छिन्द्रनाथ ल्याइएको थियो। त्यति बेला यसलाई बुंगमतीमा प्रतिस्थापन गराउँदा कुनै वर्ष रथयात्रा हुन नसके भक्तपुर फिर्ता लैजाने सहमति भएको स्थानीय विश्वास गर्छन्।

यसपालि पटक–पटक रथयात्राको साइत टर्दै जाँदा यो किम्बदन्ती वास्तविकतामा परिणत होला र ललितपुरकै इज्जत गुम्ला भन्ने डर स्थानीयमा थियो। बिहीबारको भीड उग्र हुनुमा त्यो जनश्रुति पनि कारण रहेको स्थानीय बताउँछन्।

ललितपुर महानगरपालिकाका अनुसार रथ कहिले तान्ने वा नतान्ने भन्ने निर्णय महानगरको होइन । यसको जिम्मा ज्यापु समाजको हो ।

ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बिहीबारको घटनामा आफूहरूको कुनै भूमिका नभएको बताएका छन्। लामो समयदेखि रथयात्रा हुन नसकेर आक्रोशित जनता स्वतस्फूर्त सडकमा आउँदा यस्तो घटना भएको उनको भनाइ छ।

वर्षकै लामो रथयात्रा मानिने यो जात्राले करिब १४ सय वर्ष पुरानो इतिहास बोकेको छ।

जात्रामा रथयात्रा गराइने मच्छिन्द्रनाथलाई भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त र ललितपुरका एक ज्यापूले भारतको आसामदेखि ल्याएको किम्बदन्ती छ।

त्यो बेला गुरू गोरखनाथले आफूलाई कसैले भिक्षा नदिएको झोँकमा सम्पूर्ण नागलाई वशमा लिएछन्। नागलाई वशमा लिएपछि देशमा वर्षा भएन। अनिकाल लाग्यो। मच्छिन्द्रनाथ आएपछि गोरखनाथ उनको दर्शन गर्न उठ्दा नागहरू मुक्त भए, अनि वर्षा सुरू भयो भन्ने विश्वास छ।

‘त्यो बेला देशमा १२ वर्ष लामो महामारी थियो। त्यस्तो समय हामीलाई मच्छिन्द्रनाथले उद्धार गर्नुभएको हो। अहिले हामीले उहाँको यात्रालाई रोकेर हुन्छ?’ कपिलमुनि बज्राचार्य भन्छन्, ‘आज जे भयो यो सब सरकारी निकाय र गुठी सस्थानको बेइमानीको नतिजा हो। जात्रा रोक्नु उनीहरूको ठूलो भूल हो। उनीहरूले समयमै राम्रो निर्णय दिएका भए आजको अवस्था आउने थिएन।