ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखाना अर्थ अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । कोरोना संक्रमणको त्रास तथा लकडाउन र निषेधाज्ञाका कारण चिडियाखाना बन्द हुने स्थितीमा पुगेको हो ।
ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखाना अर्थ अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक भई चिडियाखाना बन्द हुने अवस्थामा पुगेको हो । चिडियाखानाको मुख्य आम्दानी अवलोकन गर्न जानेहरुबाट लिइने शुल्क नै हो । कोरोना संक्रमणको त्रास तथा लकडाउन र निषेधाज्ञाका कारण चिडियाखानामा प्रवेश पूर्णरुपमा बन्द छ ।
सदर चिडियाखानाका आयोजना अधिकृत डाक्टर चिरञ्जीवी पोखरेल आम्दानी बन्द हुँदा वन्यजन्तुको रेखदेख, खानपिन र सरसफाइमा खर्च व्यवस्थापन गर्न समस्या भएको बताउँछन् । २०७६ चैत महिनाको पहिलो साता देखि नै चिडियाखाना प्रवेश पूर्ण रुपमा बन्द रहेकाले आम्दानी शुन्य भएको पोखरेलको भनाइ छ ।
चिडिया खानाको आम्दानी प्रतिमहिना १ करोड रुपैयाँ बराबर हुन्थ्यो भने खर्च पनि सोही रकम बराबर नै हुने गरेको थियो । तर आम्दानी शून्य भएपछि चिडियाखानालाई कसरी जोगाउने भन्ने चुनौति थपिएको छ । चिडियाखानामा हाल ७५ जना कर्मचारी कार्यरत छन् । अहिले चिडियाखानामा एक सय १० प्रजातिका १ हजार भन्दा बढी वन्यजन्तु रहेका छन् । आम्दानी शून्य हुँदा कर्मचारी र वन्यजन्तु पाल्न हम्मे हम्मे परेको छ ।
वन्यजन्तुका लागि लामो समय खानेकुरा मौज्दात राख्न सक्ने अवस्था पनि चिडियाखानासँग छैन । गेडागुडी लगायतका खानेकुरा एक महिना सम्मका लागि मौज्दात रहने भएपनि माछा मासु एकसाता भन्दा बढी राख्न सक्ने क्षमता चिडियाखानासँग छैन । त्यसैले लकडाउनको समयमा वन्यजन्तुको खानेकुरा ल्याउन समेत समस्या हुने गरेको छ । यस्तो अवस्थामा पनि सरकारले कुनै कदम नचालेको चिडियाखानाको गुनासो छ ।