नर्भिक अस्पतालमा एक जना संक्रमितको उपचार गर्दा एक दिनको ६८ हजार बिल

Health-Education

नर्भिक अस्पतालमा उपचारार्थ एक जना कोरोना संक्रमितका परिवारले अस्पतालले आफुसंग चर्को मुल्य असुलेको बताएका छन् । वीरगञ्जका ४५ वर्षीय एक जना पुरुषको उपचारमा नर्भिकले चर्को शुल्क असुल गरेको आफन्तले बताएका छन् । दमको बिरामीलाई उपचारका लागि बौद्ध अस्पतालवाट रेफर गरेर नर्भिक ल्याइएको विरामीसंग नर्भिकले चर्को शुल्क असुलेको हो ।

गण्डकस्थित बौद्ध अस्पतालमा गरिएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएका उनको थापाथली स्थित नर्भिकमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि भोलिपल्टै एम्बुलेन्समा अक्सिजन दिँदै थापाथलीस्थित नर्भिक अस्पताल लैजाँदा त्यहाँ पनि पिसिआर परिक्षण गरिएको हो ।

पिसिआर परिक्षणमा कोरोना पोजेटिभ आएपछि भदौ ४ गतेवाट नर्भिकमा उनको उपचार सुरु भएको थियो । कोरोना पोजेटिभ भएको भन्दै अस्पतालले सुरुमा ९ हजार ५ सय रुपैया तिर्दै आएको बेडवाट कोभिड क्रिटिकल वार्डमा सार्‍यो । त्यसपछिका दिनमा कोभिड बिरामी भन्दै सामान्य बिरामीलाई लिनेभन्दा ५० प्रतिशतसम्म बढी शुल्क लिएको बिरामीका परिवारले बताएा छन् ।

‘कोभिड वार्डमा सारेपछि हामीलाई प्रतिदिन १० हजार बेड चार्ज, १० हजार कोभिड सुरक्षा चार्ज, १ हजार खाना चार्ज र १ हजार नर्सिङ चार्ज भन्दै २२ हजारको बिल आउन थाल्यो’ बिरामीका छोराले भन्नुभयो, ‘हामीलाई त बुवालाई जसरी पनि बचाउनु थियो, भने अनुसार सबै परीक्षण गर्‍यौँ, डिस्चार्ज हुने बेला केही छुट हुन्छ होला भन्ने सोचेका थियौँ तर उल्टै सर्भिस चार्ज भनेर थप १० प्रतिशत बढी शुल्क तिर्नु पर्‍यो, भर्ना भएको ७ दिनमा भदौ १० गते डिस्चार्ज हुँदा फार्मेसी सहित अस्पताललाई ४ लाख ७८ हजार ४७६ रुपैयाँ तिर्‍यौँ ।’

नर्भिक आफैले केहीदिन अघि १४ दिन कोरोना बिरामीलाई आइसोलेट गरेको १ लाख ५० हजारदेखि २ लाखसम्मको अफर गर्दै विज्ञापन गरेको थियो ।

कोरानाको बिरामी भनेपछि हरेक इन्भेष्टिगेसनको शुल्क अरुलाई भन्द ५० प्रतिशत बढी शुल्क लिइएको उनको भनाइ छ । अरु बिरामीलाई ९ हजार ५ सयमा हुने सिटिस्क्यान कोरोनाका बिरामी भएर आफूहरुले १४ हजार तिर्नुपरेको उनले बताएका छन् । बिरामीका छोराका अनुसार बिरामीका सास फेर्न गाह्रो भएपछि अस्पतालले २४ घण्टा अक्सिजन दिई उपचार गरेको थियो।

नर्भिकले कोभिड क्रिटिकल वार्ड भन्ने नाम दिइएको उपचार कक्षमा राखेको बिरामीका छोराले जानकारी दिए। बिरामीका छोरा स्वयं पनि चिकित्सक हुन् । उनका अनुसार ७ दिन त्यहाँ राख्दा एक दिन अक्सिजन दिइएको थियो । बाँकी ५ दिनमा केही इन्जेक्सन र केही औषधि दिइएको थियो।

७ दिनसम्म ७ डोज रेम्डिसिभिर औषधि चलाइएको थियो । गरिएको उपचार हेर्दा त्यति धेरै खर्च नलाग्नु पर्ने बिरामीका छोराले बताए । स्वास्थ्य मन्त्रालय अधिकारीहरुका अनुसार एक डोज रेम्डिसिभिरको ७ हजार भन्दा बढी शुल्क लिन पाइँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामी उपचार गरेबापत्को शुल्कका सम्बन्धमा बनाएको निर्देशिकामा लक्षण नभएका संक्रमितलाई आइसोलेसनमा राखेको १ दिनको २००० (खानासहित) सम्म लिन पाउने भनिएको छ।

सामान्य लक्षण देखिएकालाई ३५ सय, आइसीयूमै राख्नु पर्ने भएमा ७ हजार र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीसँग सबै चार्जसहित १५ हजारसम्म लिन पाइन्छ । मन्त्रालयको यो नियम कागजमै मात्र सीमित भएको छ। यो समाचार हेल्थपाटी अनलाईनमा जगन्नाथ ढकालले लेखेका छन् । समाचारमा अस्पतालको बिल समेत संलग्न छ ।