कोरोना भाइरसविरुद्ध दाबी गरिएको विश्वकै पहिलो खोपले भाइरसविरुद्ध प्रतिरक्षा प्रणाली बलियो गराएको देखिएको छ । शुक्रबार मेडिकल जर्नल लान्सेटमा प्रकासित एक अध्ययनले खोपको साइड इफेक्टका रूपमा सामान्य ज्वराे रहेको उल्लेख गरेको छ ।
रसियाले अगस्तमा कोरोनाविरुद्धको खोपको विकास गरेको दाबी गरेसँगै उसले थुप्रै आलोचनाहरु झेलेको थियो । तेस्रो चरणको परीक्षण अघि नै रुसले खोप सफल हुने दाबी गरेको थियो ।
तेस्रो चरणको परीक्षणको पहिलो र दोस्रो अध्ययनमा ७६ जनामा खोप लगाइएको र सबैको प्रतिरक्षा प्रणाली बलियो भएको शुक्रबार प्रकासित अध्ययनले जनाएको छ ।
यति मात्रै हैन्, उनीहरुको शरिरमा उत्पन्न भएको एन्टीबडी प्राकृतिक रुपमै अर्थात आफै निको भइरहेका मानिसहरुको जतिकै मात्राको रहेको छ । अनुसन्धानबाट खोपले टी सेल अर्थात शरिरमा भएको संक्रमणलाई नष्ट गर्ने कोषीकाहरुलाई पनि क्रियाशिल पारेको देखिएको छ ।
यद्यपी, खोपको सफलता र सुरक्षाबारे अझैं लामो अध्ययनको आवश्यक्ता रहेको अधिकारीहरुले बताएका छन् । खोप दिइएकामध्ये आधामा ज्वरो,४२ प्रतिशतमा टाउको दुखाइ, २८ प्रतिशतमा कमजोरी महशुस र २४ प्रतिशतमा माशंपेसीको दुखाई जस्ता साइड इफेक्ट देखिएको छ ।
अगस्त २६ बाट अन्तिम चरणको परीक्षण सुरु गरिएको खोपमा ४० हजारमाथि परीक्षण हुने लान्सेटले जनाएको छ । खोप कति सुरक्षित र सफल हुन्छ भनेर थप परीक्षण जारी छ ।
आउँदो हप्ताबाट मास परीक्षण अर्थात ५ हजारभन्दा बढीमा खोप लगाइने र अध्ययन अघि सारिने रुसले जनाएको छ । यो खोप रुसको स्वास्थ्यमन्त्रालयले अनुमति दिइसकेको छ ।