देउताले बचाउँछ भन्दै कैलाश देवताको भव्य मेला, फैलियो कोरोना

News

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडामा भदौ १६ गते कैलाश देवताको पुजामा भव्य मेला लाग्यो । स्थानीय धामी पतुरेहरुले गाँउमा कोरोना आउन दिदैनौँ, आफ्ना छनियारहरुको रक्षाका लागि देवता छन् भन्ने आश्वासन दिएकले स्थानीयहरु पनि आश्वस्त भए । देवताले बचाउछन् भनेर पुजा र मेलामा सहभागी भए ।

कैलाश देवताको पूजा भएको भोलीपल्ट भदौ १७ गते पहिला स्वाब लिएका ६६ जनाको रिपोर्ट आयो । जसमा २० जनामा कोरोना पुष्टि भयो । ती मध्ये पनि दुई जना कैलाश देवताको पूजामा सहभागी पतुरेका धामी समेत परेछन् जसले कोरोना पुष्टि भएको अघिल्लो दिन कैलाश देवताको पूजामा सहभागी सबैलाई कोरोनाबाट बचाउने बाचा गरेका थिए।

स्थानीयहरु देवताले बचाउने भन्दै देवताका थानमा खसी बली दिने गथ्र्ये । २०७६ साल माघमा जब कोरोनाको हल्ला आयो । गाउँ गाउँमा देवताका थानमा पूजा गर्ने पशु बली दिने लहर नै चलेको स्थानीय बताउँछन्। सारालाई कोरोनाबाट बचाउने भन्दै देवताका धामीहरुले बाचा गरे । जहाँ जहाँ खसी काटेर कोरोना आउन नदिने बाचा गरेका थिए ती सबै गाउँमा कोरोना देखियो।

तीन दिनअघि पनि पलाँता गाउँपालिका–८ सुनबाडामा रहेको दुधेसिल्लो खापर मष्टा ठुलामाडुमा भव्य पैठ भयो । हजारौँ मानिसहरुको भेला भयो । आसपासका क्षेत्र र कोरोनाको संक्रमण फैलिएको जुम्लाको हिमा गाँउपालिकाबाट समेत हजारौँ मानिसहरु आएका थिए ।

जिल्लाको पचालझरना गाउँपालिकाको बाचकोट, राम्नाकोट, नानिकोट, रास्कोट नगरपालिकाको स्यूना, जिल्ला सदरमुकामसमते रहेको खाँडाचक्र नगरपालिकाको थानकोट, ताडी, चुली, मालिका लगायतका ठाउँमा भव्य मेला सम्पन्न भए । प्रशासनले जारी गरेको निषेधाज्ञाका बेला पनि मेलाहरु रोकिएनन् ।

साउनमै जिल्ला कोभिड–१९ रोग नियन्त्रण तथा व्यवस्थापन केन्द्र र विपद्को बैठक बसी यस वर्ष गाँउमा मेलाहरु आयोजना नगर्ने निर्णय गरिएको तथा स्थानीय तहलाई मेला रोक्न आग्रह गरिएको थियो । स्थानीय तहले सूचना निकाले पनि मेला रोक्न सकेनन् ।