नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ। गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको हो।
प्राप्त विवरण अनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए। काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ सङक्रमित भएका छन्। त्यसमध्ये ५५८ जना अझै उपचाररत छन्।
प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ सङ्क्रमित रहेको जनाइएको छ। त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक कडायतले सङ्क्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए। उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन्। सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ। सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको छ।a