मच्छिद्रनाथको जात्रा नेवारको मात्रै होइन

News

विशेषगरी उपत्यकाका नेवार समुदायले परम्पराकालदेखि नै मनाउदैँ आएको रातो मच्छेद्रनाथको जात्रा विशेष समुदायको मात्रै नभई सम्पूर्ण नेपालीको गौरवको पर्व भएको संस्कृतिविद्हरुले बताएका छन् । नेपालको मौलिक कला, परम्परा र आपसी सद्भाव कायम राख्न यस्ता जात्राहरुले सहयोग पुर्याउने हुँदा कुनै जात र समुदाय विशेषलाई जोड्न नमिल्नेमका उनीहरुको जोड छ ।

कोरोना संक्रमण र निषेधाज्ञाको कहरबीच केही दिनयता काठमाडौँमा संस्कृतिको बहस चुलिएको छ । विशेषगरी वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको रथयात्रा रोकिएपछि यो विषयको पक्ष र विपक्षमा बहस चर्किएको हो । मच्छिन्द्रनाथको जात्राको विषयमा जातजातिको प्रसंग आएपछि यो विषय झन् पेचिलो बनेको छ । विज्ञहरू भने मच्छिन्द्रनाथको जात्रालाई साम्प्रदायिक रुपमा नभई नेपालको मौलिक पर्वका रूपमा बुझ्नुपर्ने बताउँछन् ।

रातो मच्छिन्द्रनाथको जात्राको विषयमा बुझ्न लिच्छवीकालको इतिहास पल्टाउनुपर्ने हुन्छ । राजा नरेन्द्रदेवको पालामा कान्तिपुरवासीले भिक्षा नदिएका कारण गुरु गोरखनाथले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । उनको यो कदमपछि १२ वर्षसम्म वर्षा नभई अनिकाल भयो । यसपछि भारतको कामरुप कामाक्षबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याइयो । गुरु मच्छिन्द्रनाथ आएपछि गोरखनाथ नागको आसनबाट उठे । फलस्वरूप वर्षा भयो । यसैले पनि मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिएको छ ।

संस्कृति परम्परा कुनै स्थान विशेष स्थानको परिचय हो । त्यसमा कुनै जातिको अपनत्व रहनु अस्वाभाविक होइन । तर देशकै मौलिक पहिचान बनेको संस्कृतिलाई फलानो जातको फलानो क्षेत्रको भनेर अनावश्यक विवाद गर्नु भने मुर्खता हो ।