उपन्यासकार सञ्जीव उप्रेतीले आफ्नो पछिल्लो कृति ‘हंस’का लागि प्रदान गर्ने घोषणा गरिएको ‘पद्मश्री साहित्य पुरस्कार’ अस्वीकार गरेका छन्। उप्रेतीसँगै पद्मश्री साधना सम्मानका लागि छनौट गरिएका राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रित यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति भएकाले उनीसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन आफूले नसक्ने उनले आयोजकलाई जानकारी गराएका छन्।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साधना सम्मान प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो। दुवै पुरस्कारको राशि ३/३ लाख रुपैयाँको छ।
उनले आफूलाई पुरस्कार अस्वीकार गर्दा दुख लागेको तर त्योबाहेक आफूसँग कुनै उपाय नभएको बताए। ‘उत्पीडनको बिरुद्ध मैले जिन्दगी बिताएको छु, अब उत्पीडनकै आरोप लगाएको व्यक्तिसँग मैले पुरस्कार लिन मिल्दैन,’ उनले भने।
पूर्वएमाले नेता प्रश्रितले आफूमाथि पटकपटक बलात्कार गरेको आरोप अर्घाखाँचीकी महिला शारदा भुसालले लगाएकी थिइन्। भुसालले लेखेको आत्मकथा ‘धरातल’मा उनले १३ वर्षको उमेरमा आफूसँग प्रश्रितले पटक-पटक जबर्जस्ती सम्बन्ध राखेको र यौन हिंसा गरेको आरोप लगाएकी छिन्। प्रश्रितले भुसालको पुस्तकमा लगाइएको आरोप निराधार रहेको बताएका थिए।