सरकारी कार्यालयमा सेवाग्राहीको भीडः संक्रमणको जोखिम बढ्दै

News

पर्सामा खुलेका सरकारी कार्यालयहरुबाटै कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । उपभोक्ताको बढि भिडाभाड हुने सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा उपभोगक्ता तथा सेवाग्राहीले अपनाउनुपर्ने सामान्य सावधानी पनि नअपनाउँदा त्यस्ता कार्यालयहरुबाट कोरोना संक्रमण फैलिने जोखिम बढेको हो ।

संक्रमण फैलिन नदिन नेपाल सकारले निर्धारण गरेका मापदण्ड कार्यन्वयन गराउने जिल्ला प्रशासन कार्यालय पर्सा मै भौतिक दुरीको पालना हुन नसक्दा स्थिती जटिल बन्दै गएको छ ।

वीरगन्जको मालपोत, नापी, यातायत, आन्तरिक राजश्व, बैंक तथा वित्य संस्थाहरुमा उपभोग्ताको लामो लाईन लागेको छ । तर न मास्क लगाएको देखिन्छ न भौतिक दुरी नै कायम गरेको पाइन्छ । त्यस्तो अवस्था हुन नदिन त्यस्ता कार्यालयका अधिकारी र अन्य अनुगमन गर्ने निकायले पनि चासो दिएका छैनन ।

कार्यालयहरुमा आउने सेवाग्रहीको सुरक्षाका लागि साबुनपानीको समेत व्यवस्था गरिको छैन भने सरकारी कर्मचारी र सेवाग्राही समेतले मास्क प्रयोग नगर्दा थप जोखिम बढेको छ ।

सिमा क्षेत्रमा भइरहेको सहज आवतजावतले संक्रमणको जोखिमलाई अझ बढाएको छ, तर अनुगमन गर्ने निकायहरुले देखेको नदेखेकै झैं गर्न थालेका छन् ।

भारतसँग जोडिएका मुख्य नाकाबाहेक अन्य सिमा नाकाबाट भारतीय सवारी साधन सहजै नेपाल प्रवेश गरिरहेका छन् भने त्यसलाई नियन्त्रण र नियमन गर्ने निकाय मुखदर्शक बनेको छ ।

यसै विषयमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवसँग बुझदा उहाँले कार्यालयहरुमा बढ्दो सेवाग्रहीको चाप र जनशक्ति अभावका कारण अनुगमन गर्न नसकिएको स्विकार्नुभयो । साथै देखिएका समस्यालाई समाधान गर्न चाँडै पहल गरिने जानकारी पनि दिनुभयो ।

पर्सा जिल्लामा संक्रमित भेटिने क्रम घटेसँगै असोज १५ गतेसम्म निषेधाज्ञालाई कायम राख्दै जनजिवनलाई सामान्य बनाउन स्थानीय प्रशासनले बजार, यातायात उद्योग कार्यालयहरु खोल्ने आदेश गरेको छ ।