हजारौं मानिसहरुको ज्यान बचाउने एउटा मुसालाई वीरता पुरस्कारले सम्मानित गरिएको छ । अफ्रिकी जातिको यो मुसालाई बेलायतको एक संस्थाले वीरता पुरस्कारले सम्मानित गरेको हो । मुसालाई सम्मानस्वरुप स्वर्ण पदक प्रदान गरिएको छ । मगावा नामको यो मुसाले कम्बोडियामा हजारौं नागरिकको ज्यान बचाएको थियो ।
द गार्डियनको रिपोर्टअनुसार मगावाले कम्बोडियामा आफ्नो सुँघ्ने शक्तिबाट ३९ ल्याण्डमाइन (बारुदी सुरुङ) र २८ विष्फोट नभएका अन्य विष्फोटकहरु पत्ता लगाएको थियो । यी विष्फोटकहरुका कारण हजारौंको ज्यान जाने खतरा थियो तर आफ्नो कामको क्रममा उसले यति धेरै विष्फोटक पत्ता लगाएर हजारौं ज्यान बचाएको थियो । यो वीरता पुरस्कार जित्ने मगावा पहिलो मुसा हो । मगवा अहिले ७ वर्षको छ र यो भाले मुसा हो ।
यी मुसाहरुलाई विशेष किसिमको प्रशिक्षण दिएर बारुदी सुरङ खोज्ने काममा लगाइन्छ । यी मुसाहरुलाई कसरी विष्फोटकमा रहेका रासायनिक पदार्थको पहिचान गर्ने र बेकार धातुहरुलाई कसरी बेवास्ता गर्ने भन्ने विषयमा प्रशिक्षत गरिन्छ । यसरी प्रशिक्षित मुसाहरुले निकै कम समयमा बारुदी सुरुङको पहिचान गर्न सक्छन् र आफ्ना मानिस सहकर्मीलाई यसबारे सचेत बनाउँछन् । बेलायती च्यारिटी पीडीएसए यस्तो संस्था हो जसले हरेक वर्ष जनावरहरुलाई वीरता पुरस्कार प्रदान गर्ने गर्छ । संस्थाको ७७ वर्षको इतिहासमा मुसाले वीरता पुरस्कार जितेको भने यो पहिलो पटक हो ।