सीजी हस्पिटालिटी होल्डिङसका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन्। भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो।
ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट, लीला, एकोर, र्याडिसन, ताजजस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा राहुल पनि परेका हुन्।
राहुलले चौधरी ग्रुप (सीजी)को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन्। उनी यो सूचीका सबैभन्दा कान्छा सदस्य हुन्।
‘होटेलियर’ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो। राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि थिए।
होल्डिङ्सले १२ मुलुकका ९४ गन्तव्यमा १३५ होटल/रिसोर्ट सञ्चालन गरिरहेको छ। यी होटल/रिसोर्टमा ८ हजारभन्दा बढी कोठा छन्। ८० वटा होटल/रिसोर्ट त भारतमा मात्रै छन्।
सीजीले कोभिड—१९ महाव्याधिबाट आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई सुरक्षित राख्न विभिन्न प्रशिक्षणसँगै अनलाइन कार्यशालाहरूमा सहभागी गराएको छ। महाव्याधिका बेला विश्वभरका आफ्ना होटल तथा रिसोर्टलाई थप सुरक्षित र विश्वसनीय बनाउन सफल भएको राहुल बताउँछन्।
