झापाको बहुप्रतिक्षित हुलाकी सडक अन्तर्गत पर्ने विरीङ्ग र कन्काई नदीको पुल समयमा नबन्दा दक्षिण झापाका मानिसको बर्षौं देखिको हैरानी हट्न सकेको छैन ।
झण्डै १० बर्ष बित्न लाग्दासमेत आधा पनि काम नगर्ने निर्माण कम्पनिलाई सरकारले कार्वाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
झापाका कन्काइ र विरीङ खोलाका पुल अझै आधा पनि निर्माण भएको छैन । एक दशक देखि निर्माण थालेको यी दुई वटा पुल संचालनमा नआउँदा डुङ्गाको भरमा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता हट्न सकेको छैन ।
लामो समय अलपत्र छाडेर गत बर्षदेखि निर्माण शुरु गरिएको पुलको काम २०६८ सालमा सम्झौता भई काम थालिएको हो ।
यी दुई खोलाको पुल निर्माण हुने हो भने झापामा हुलाकी सडक संचालनमा आउने अवस्थामा पुगेको छ ।
लामो समय पछि गत बर्ष कामको थालनी भए पनि पुन काम रोकिएकाले पुल बन्ला कि भन्ने आशा हराउँदै गएको स्थानीयले बताएका छन् ।

तथापि निर्माण कम्पनिका कर्मचारीले भने पुल बनाएरै छाड्ने दावी गर्दै आएका छन् ।पुल निर्माणको काम पुन चाँडै सुचारु हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जानकारी दिएको छ ।
विरीङ नदीको पुल लामा मैनाचुली जेभीले १५ करोड ५० लाखमा ठेक्का लिएको हो । यस्तै, कन्काईको पप्पु कन्ट्रक्सन र महादेव खिम्ती जेभीले ३४ करोड रुपयाँमा ठेक्का लिएका हुन ।
ठेक्का लिएर पटक पटक म्याद थप गर्ने तर काम नगर्ने यस्ता कम्पनीलाई सरकारले कडा कार्वाही गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।।