नेपालमा शुक्रबार थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप २ हजार ७२२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
होम आइसोलेसनमा ११ हजार ७६० र संस्थागत आइसोलेसनमा ९ हजार ४७४ रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा २१ हजार २३४ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२० जना रहेको छ ।
शुक्रबार पीसीआर विधिबाट १४ हजार ७३९ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म १० लाख ४८ हजार ६८६ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन् ।