कोभिड १९ का कारण नेपाल भारत सीमा लामो समयदेखि बन्द छ । कोभिड १९ का कारण नेपाल भारत दुबैतर्फ सीमानामा कडाई गरिदा भारतबाट हँुदै आएको अवैध आयात घटेका कारण नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको शुरुवातमै भन्सार राजश्व लक्ष्यभन्दा धेरै बढी संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७६–०७७ मा राजश्वको निर्धारित लक्ष्यमा घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आव २०७७–०७८ को शुरुको दुई महिनामानै लक्ष्यभन्दा धेरै बढी राजश्व संकलन गर्न सफल भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले सीमाना बन्द रहेकोले अवैध आयात र तस्करी घट्दै गएकोले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा लक्ष्यभन्दा धेरै बढी राजश्व संकलन भएको बताउनुभयो ।
उहाँले साउन महिनामा ९४ करोड ७५ लाख छ हजार रुपियाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा लक्ष्यभन्दा ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशतभन्दा बढी राजश्व संकलन भएको बताउनुभयो । यसैगरी भदौ महिनामा राजश्व संकलन लक्ष्य एक अर्ब छ करोड रहेकोमा सो महिनामा पनि लक्ष्यभन्दा ४० करोड बढी एक अर्ब ४६ करोड रुपियाँ संकलन भएको प्रमुख निरौलाले जनाउनुभयो ।
उहाँका अनुसार खुला सीमानामा कडाई गरिएपछि सबैजसो सामग्री मुख्य नाका हुँदै भन्सार भएर आएकोले राजश्व संकलनमा वृद्धि भएको हो ।
नेपाल भारत सीमानामा रहेको जमुनाहा ईलाका प्रहरी कार्यालयका प्रमुख सई विष्णु गिरीले सीमाना बन्द भए पनि शुरुदेखि नै भारतबाट अत्यावश्यक सामाग्रीको आयात जारी रहेको बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले गत केही समययता यहाँस्थित नेपाल भारत नाकामा कडाई गरिएपछि राजश्व संकलन ह्वात्तै बढेको बताउनुभयो ।
उहाँले नाकामा भैरहेको अवैध आयात तथा चोरी तस्करीलाई घटाउन सफल भएकोले राजस्व संकलन बृद्धि हुँदै गएको बताउनुभयो । सीमानामा विशेष प्रहरी टोली खटाएर निगरानी बढाईएको पनि प्रजिअ कुरुम्वांगको भनाई छ ।
गत चैत महिनादेखिनै सीमाना बन्द भए पनि नेपालगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थ तथा अत्यावश्यक सामग्रीको आयात निरन्तर जारी छ ।