अपिहिमाल–६ सितोला क्षेत्रका लागि पनि टेलिफोन टावर जडान हुदैछ । टावर जडान भएपछि पूरै गाउँपालिका सञ्चारमा जोडिने छ । छ वडा रहेको अपिहिमाल गाउँपालिका पर्यटकीय क्षेत्र पनि हो । पर्यटक घुम्न आउने क्षेत्रमा सञ्चार हुन सकेन भने समस्या हुने भन्दै गाउँपालिकाले शुरुदेखि नै टेलिफोन टावर स्थापनाका लागि पहल गर्दै आइरहेको थियो । अहिले सांसद गणेशसिंह ठगुन्ना र गाउँपालिका अध्यक्ष मन्यालको पहलमा चाँडो टावर जडानको कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।
यस्तै व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भइसकेपछि नमस्तेको टावर आवश्यक रहेको छ । यसअघि छांगरुमा स्काई फोनको टावर भए पनि राम्रोसँग काम गर्न नसक्दा समस्या थियो । छांगरुमा नमस्ते टावर जडानका लागि भवन बनिसकेको छ ।
गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटवार्ता गरी तिहारअघि नै छांगरुमा टावर जडान गर्न आग्रह गरेका छन् । छांगरुमा निर्माण भइरहेको नमस्ते टेलिफोनको टावरलाई तिहार अगावै फोर जी सेवासहित सञ्चालन गर्न आग्रह गरेको उनले बताए ।