उत्तर कोरियामा सत्ताधारी वर्कर्स पार्टीको ७५ औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड गरिएको छ ।
सर्वोच्च नेता किम जोङ उनको उपस्थितीमा उत्तर कोरियाले रातिको समयमा दुर्लभ सैन्य परेडको आयोजना गरेको हो । नेता किमले दुश्मनका सेनाहरुले आणविक खतराका साथै विभिन्न चुनौती थपेको बताउँदै आफ्नो युद्ध क्षमताको सुदृढीकरण जारी राख्ने बताए ।
परेडमा कोरियाले सार्वजनिक गरेका अत्याधुनिक हतियारमध्ये अमेरिकासम्म पुगेर आक्रमण गर्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र आइसीबीएम विशेष भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ आइसीबीएम सार्वजनिक गरिनुको अर्थ उत्तरले अमेरिकालाई स्पष्ट रुपमा चेतावनी दिएको विश्लेषकहरु बताउँछन्। उत्तर कोरियाले आफूले सन् २ हजार १८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरेपनि अमेरिकाले शर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ।
२ हजार १८ र २ हजार १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता उनबीच दुई पटक शिखर वार्ता भएपनि कुनै निष्कर्ष दिएको थिएन। अमेरिकाले विस्तारै प्रतिबन्ध फुकुवा गर्दै लाने बताएको छ ।
तर उत्तरले एकैपटक पूर्ण प्रतिबन्ध चाहेकाले सम्झौता नभएको अमेरिकी अधिकारीहरु बताउँछन्। तर आफूले सम्झौताको पालना गर्दै हतियार परीक्षणलाई रोकेपनि अमेरिकाले आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्न आनाकानी गरेको उत्तरको भनाइ छ।