बिल गेट्सको ब्लग गेट्स नोट्सले कोभिड १९ का बखत अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिमा काभ्रेकी लक्ष्मी रायामाझीलाई समेटेको हो । उनी सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालकी सेवा प्रदायक पनि हुन् ।
यस महामारीले नेपालमा महिलाहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरू प्रदान गर्न एउटा नयाँ अवरोधको सिर्जना गर्दा थुप्रै महिलाहरू स्थानीय स्वास्थ्य सेवा संस्थाहरूमा सेवा लिन कोरोना संक्रमणका डरले नजाँदा लक्ष्मी यी चुनौतीहरू पार लगाउन र उनको सेवा आवश्यक भएका महिलाहरू समक्ष पुग्न प्रयत्नरत रहेको गेट्स नोट्समा उल्लेख छ ।
महामारीको अवधिमा धेरैजसो सरकारी स्वास्थ्यसेवा निकायहरू कोभिड वा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रीत भएपनि यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरूलाई सधैं प्राथमिकताका रुपमा लिइएन । मेरी स्टोप्स् नेपालले विभिन्न समूहहरुसँगको संयोजनमा यौन तथा प्रजनन् स्वास्थ्यबारे सेवा दिएको थियो । रायामाझीले कठिन परिस्थितिमा पनि काम गरेको गेट्सद्वारा उल्लेख छ ।