नवीकरण शुल्क बुझाएपछि हिमालयन डिष्टिलरीको कारोबार पुनः सुचारु

Economy

हिमालयन डिस्टिलरी (HDL) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार पुनः सुरु भएको छ । नेप्सेका अनुसार कम्पनीले असोज मसान्तभित्र तोकिएको वार्षिक शुल्क आइतबार बुझाएपछि कारोबार फुकुवा गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर शेयर बजार कारोबार गरिरहेका पाँच तथा नियमित कारोबारमा नरहेका २० गरी कूल २५ कम्पनी कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाउँदा नेप्सेले आइतबार ती कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले कम्पनीले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएको हुनाले शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेमा समावेश भएका कम्पनीको शेयर/डिवेन्चर सूचीकृत भई वित्तीय मध्यस्तकर्ता मार्फत कारोबार हुँदै आएका कम्पनीले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २४ मा भएको व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक नविकरण शुल्क अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

यस व्यवस्था अनुसार ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्ता पूँजी रहेको कम्पनीले १ लाख रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था छ ।