विशेष विमान मार्फत नेपाल आएका गोयललाई लिन नेपालको अध्यागमन विभागका अधिकारी र सुरक्षाकर्मी विमानमै पुगेर स्वागत गरेका थिए ।
भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली नेपाल आएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई भेटेको छ । ‘रअ’ प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको छ ।
उनीहरूलाई लिएर आएको भारतीय एयरफोर्सको जहाज आउन लागेको जानकारी पर्यटन मन्त्रालयले बुधबार बिहान मात्रै नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयलाई गराएको थियो ।
उक्त जहाज आज बिहान पौने १० बजे फर्कने गरी फ्लाइट प्लानमा आएको हो । गोयलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा परिचयपत्रको रूपमा भोटर आइडी कार्ड देखाएका थिए ।
गोयलले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेका छन् । पौने १६ घन्टा काठमाडौं बसाइमा उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपालल, डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने तालिका छ । गोयलसँगै आएका अरुण जैन भूकम्पको बेला नेपालस्थित भारतीय दूतावासमा कार्यरत थिए ।
गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञ तथा राजनीतिज्ञहरूले विभिन्न आँकलन र व्याख्या गरेका छन् । कसैले एक देशको गुप्तचर प्रमुख छिमेकी देशको प्रधानमन्त्री भेट्ने सिधै आइपुग्नु सर्वभौम देशको दुर्भाग्य र छिमेकीको हेपाहापन भनेका छन् भने कतिले यो भ्रमणले सकारात्मक र महत्पूर्ण परिणाम ल्याउने आँकलन गरेका छन् । तर छिट्टै नै हुने भारतीय सेना प्रमुखको भ्रमणपछि नेपाल भारत सम्बन्ध कतातिर मोडिन्छ त्यो भने समयले नै बताउनेछ ।