ग्राण्डीको बदमासी, ४० लाख असुलेर १८ दिनपछि परिवारको हातमा शव !

News

काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पताल उपचारका क्रममा ३७ वर्षीय पुष्प रिसालको ज्यान गएपछि आफन्त आक्रोशित बनेका छन् । अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै उनीहरू आक्रोशित भएका हुन् । कहिले कोरोना पोजेटिभ त कहिले नेभेटिभ देखिएको भन्दै आफन्तलाई समेत शव हेर्न नदिई सेनाको जिम्मा लगाउने तयारी गरेपछि उनीहरु अस्पताल परिसरमै विरोधमा उत्रिएका हुन् ।

मृत्युको मुखमा पुगेकाको पनि ज्यान जोगाउने भएकाले अस्पताललाई मन्दिर र चिकित्सकलाई भगवान्को संज्ञा दिइन्छ । तर कहिलेकाहीँ अस्पताल र चिकित्सकको चरम लापरवाहीका कारण कतिपय बिरामीले अकालमै ज्यान गुमाउन पुग्छन् । यसको पछिल्लो उदाहरण हुन्, काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका काठमाडौँ बौद्धका ३७ वर्षीय पुष्प रिसाल । उनी २० दिनअघि निमोनियाको सामान्य लक्षण देखिएपछि ग्राण्डीमा भर्ना भएका थिए । तर, अस्पतालको चरम लापरवाहीका कारण भर्ना भएको १८ दिनपछि उनको मृत्यु भयो ।

निमोनिया देखिए पनि अस्पताल लग्दा उनको स्वास्थ्य अवस्था जटिल भने थिएन । गत असोज २१ गते कोरोना पोजेटिभ भयो भनेर अस्पतालले उनका श्रीमती समेतलाई पनि भेट गर्न दिएन । परिवारले उपचार गरेको फोटो हेर्छौँ भन्दा पनि अस्पताल प्रशासनले वास्ता गरेन ।

१८ दिनसम्म अस्पतालमा राख्दा के समस्या थियो, कसले उपचार गरिरहेको छ भन्ने पत्तो पाएन, परिवारले । शुरुमा कोरोना पोजेटिभ भनिए पनि १७ दिन बित्दा पनिपुनः परीक्षण नै नगरी अस्पतालले उनको उपचार गरिरहेको थियो । अनि १८ औँ दिनमा बिरामीको मृत्यु भयो भनेर जानकारी दिइयो  र कोरोना पोजेटिभ भएका कारण सेनाले शव लैजाने पनि बताइयो ।

तर परिवारको विरोधका कारण त्यसको एक दिनपछि कोरोना रिपोर्ट नेगेटिभ देखाइयो । त्यसपछि १० लाख रुपैयाँ तिरेर शव लैजानुस् भन्ने उर्दी अस्पतालले जारी ग¥यो । १८ दिन अस्पतालमा राख्दा परिवारले ग्राण्डी ४० लाख तिरिसकेको थियो । अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै सत्यतथ्य बाहिर नल्याएसम्म शव नउठाउने परिवारको अडान छ ।

कहिले कोरोना रिपोर्ट पोजेटिभ त कहिले नेगेटिभ भन्दै शवको समेत उपचार गरेर ग्राण्डी अस्पतालले पैसा ठगेको मृतकको परिवारको आरोप छ । तर अस्पताल प्रशासन भने बाँकी पैसा कटाएर वा पैसाको लेनदेन मिलाएर मुद्दालाई सामसुम पार्नतर्फ लागेको छ । अस्पतालहरू लापरबाही दिनप्रतिदिन बढ्दो छ । ज्यान बचाउन अस्पताल पुगेका व्यक्ति कहिलेसम्म डाक्टरको लापरवाहीको शिकार बनिरहनुपर्ने भन्न गम्भीर प्रश्न पनि खडा भएको छ ।