प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा भेट गरेको लुम्बिनी प्रदेशको मुख्यमन्त्रीशंकर पोखरेलले बताएका छन्।
प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भेट गरेपछि चौतर्फी आलोचना भइरहेको बेलामा ओली विश्वास पात्रमध्ये एक नेकपा स्थायी कमिटी सदस्य पोखरेलले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो बताएका हुन्।
‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा ‘रअ’ प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे। यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो। विरोधको योजना हो या नियतीरु वुझ्न गाह्रो भो’, उनले लेखेका छन्, ‘आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ। नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् कामना गरौँ।’
रअ प्रमुखलाई भेटेपछि प्रधानमन्त्री ओलीको विरोध गर्नेहरूप्रति उनले असन्तुष्टि समेत व्यक्त गरेका छन्। उनले आफ्नो मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न समेत आग्रह गरेका छन्। अब नेपाल-भारतबीच देखिएको सीमा समस्या पनि समाधान हुने उनले तर्क गरेका छन्।
प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग गत बुधबार राति भेटवार्ता गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूले विरोध गरिरहेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर रअ प्रमुखसँग दुई घण्टासम्म भेटवार्ता गरेको थिए।