सन् १९६० मा बम्बईको पुणेमा जन्मिएका मनोज मुकुन्द (एमएम) नरभानेले ३१ डिसेम्बर २०१९ मा भारतीय सेनाको सर्वोच्च पदको कार्यभार सम्हालेका थिए । हाल भारतमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) रहेका विपिन रावतको उत्तराधिकारीका रुपमा उनी सेनाध्यक्ष बनेका हुन् ।
उनका बुबा मुकुन्द भारतीय वायु सेनाका ‘विङ कमाण्डर’ थिए भने उनकी आमा ‘अल इण्डिया रेडियो’की आरजे (रेडियो जक्की) थिइन् । पुणेको जनप्रबोधिनी प्रशालामा विद्यालय तहको अध्ययन गरेका नरभाने भारतको राष्ट्रिय प्रतिरक्षा एकडेमी र भारतीय सैन्य एकडेमी, देहरादुनका पूर्वविद्यार्थी समेत हुन् ।
उनले मद्रास विश्वविद्यालय, चेन्नईबाट प्रतिरक्षा अध्ययनशास्त्रमा स्नात्तकोत्तर तहको अध्ययन गरेका छन् भने रक्षा र व्यवस्थापन शिक्षामा दवी अहिल्या विश्वविद्यालयबाट एमफिल गरेका छन् ।
चार दशक लामो सैनिक जीवनमा उत्तरपूर्व र जम्मु–कास्मिर दुवैमा काम गरेको अनुभव नरभानेसँग छ । श्रीलंकमा शान्ति स्थापनार्थ भारतीय सेनाको ‘अपरेशन पवन’मा पनि उनी सहभागी थिए ।
विगतमा नरभाने भारतको राष्ट्रिय राइफल बटालियनको कमाण्डर रहिसकेका छन् । सेना प्रमुख हुनुअघि पनि उनले भारतीय सेनाको एकीकृत मुख्यालयमा दुई कार्यकाल काम गरेको भारतीय सेनाको वेवसाइटमा उल्लेख छ ।
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच चर्किएको सीमा विवाद चर्किएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।