मिथिलाञ्चलवासीले पानलाई आफ्नो जीवनको अति आवश्यक सामग्रीको सूचीमा समावेश गरेका पाइएको छ । यहाँ आउने पाहुना, साथीसंगीलाई चिया र पानको लागि सोधिने गरिन्छ । धर्मशास्त्रमा पानलाई शुद्ध र पवित्र मानेर देवतालाई पनि चढाइन्छ । पूजा, उत्सव र भोजभतेरमा पान अनिवार्य झैँ भएकाले पनि यसले मिथिलाञ्चलमा अधिक महत्व पाएको हो ।
भरदुतिया पर्वमा पानको पात भाइको हातमा राखी पूजा गर्ने चलन छ । विवाहमा वर–वधुलाई मायाका रूपमा पान खान दिने चलन पनि छ । यसबाट परस्परमा मायाको अभिवृद्धि हुने जनविश्वास छ । पान मिथिला क्षेत्रमा अति पवित्र मानिएको पाइन्छ । यस क्षेत्रमा प्रत्येक पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठान, व्रत, पर्व, शुभाशुभ सांस्कारिक एवं देव–पितृ कार्य इत्यादिका अवसरमा पानको पातको आवश्यकता पर्ने गर्दछ ।
यसरी नै गृहदेवताको पूजाआराधनादेखि लिएर सत्यनारायणको पूजा, चौठचन्द्र, छठ पर्व, रविशनि पर्व जस्ता पर्वहरूमा ‘फूलपान’ भनेर ‘अघ्र्य’ चढाइने गरिन्छ, जसमा पानको पात, फूल र फल, प्रायः केरा, राखेर ‘अघ्र्य’ दिइने प्रचलन रहेको छ ।
यसका साथै यस क्षेत्रमा पानको पातलाई खाने कार्यमा पनि उपयोग गरिन्छ । पानको पातको कतिपय अवस्थामा औषधीय उपयोग समेत रहेको बताइन्छ । यसलाई चून, कथा, सुपारी आदिका साथ प्रायः भोजनोपरान्त खाने प्रचलन छ ।
मिथिला क्षेत्रको सुप्रसिद्ध तिथि कोजाग्रत पूर्णिमाका दिन मधुर, मखान तथा पान खाने प्रचलन रहेको छ । यसका साथै यस क्षेत्रमा प्रायः आयोजना भइरहने भोजका अवसरमा पनि पान–सुपारी खुवाइने गरिन्छ । यसरी पान खाँदा यसमा अनेक प्रकारका मसाला, जर्दा, सुगन्धित वस्तु इत्यादि पनि मिसाइने गरिन्छन् ।
पानको धार्मिक महत्वसँगै सांस्कृतिक महत्व पनि उत्तिकै छ । कुनै कन्याको सौन्दर्यको वर्णन गरिँदा उनको पातलो ओठलाई ‘पानजस्तो पातलो ओठ’ भनेर तारिफ गरिन्छ । वात्स्यायनको कामसूत्रमा पान खाने सन्दर्भलाई सोह्रशृङ्गारमध्ये एक मानिएको छ । परापूर्वकालमा महिलाले मात्र पान खाने गरेको प्रसङ्ग समेत त्यसमा उल्लेख भएको पाइन्छ ।
आयुर्वेद चिकित्साका पिता धन्वन्तरीले पानमा १ सय ५ गुण हुने बताएका छन् । उनका अनुसार खानपानपछिको पान अम्मल मात्र नभई पाचन क्रियाको सहयोगी हुन्छ । रुघाखोकी, सर्दी र रक्त विकारमा पानलाई उत्तम मानिन्छ । आयुर्वेदमा पानको गुण रक्तवद्र्धक, कफनाशक, बलवद्र्धक र रुचिकारक बताइएको छ ।
मैथिल संस्कृतिमा पानको प्रमुखताका कारण अनेकौं लोकगीतमा यसको चर्चा पाइन्छ । भाइ–बहिनीको अमरप्रेमको प्रतीक पर्व सामा चकेवाको गीतमा बहिनीले आफ्नो भाइका लागि यसरी गीत गाउँछिन्–
पनमा जे खएला हो भैंया पिकीया नेडौला अहीठाम
तहि पिकिये हो भैया जङ्गा–जमुना अएलइ बाढि
त्यस्तै सोहरगीतमा नायिका गर्भवती भएपछि आफ्ना प्रियतमलाई भन्छिन्–
ढोलिएक पान देलनि किछु नहि देलनि
एउटा शृङ्गारिक लोकगीतमा पानको यसरी पनि चर्चा गरिएको छ–
हँसी–हँसी पनमा खियौले बइमनमा
कि अपने वसे रे परदेश
गोरी रे चुनरियामे दगिया लगाइ गेले
मारिके करेजबामे ठेस
पान मैथिल संस्कृतिको अभिन्न अङ्ग बनेकाले मिथिलाञ्चलमा कलकतिया, बनारसी, देशी, मगही, हरियरपात एवम् मीठा पातको अधिक प्रचलन भएको पाइन्छ ।
पान वहुपयोगी लहरेदार बनस्पति
पान वहुपयोगी लहरेदार बनस्पति हो । पान खाने नेपाल,भारत लगायत दक्षिण(पूर्व एसियाको परम्परा रहेको छ । पान को पातमा चूना, कत्था, सुपारीको टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन छ ।
प्राप्त जानकारी अनुसार अहिलेसम्म पान पातका ६४ जातहरु भारतमा पाइन्छ । तीमध्ये प्रमुख जातहरु देशी, काली, रायटेक आदि महाराष्ट्रमा । साँची, मिठु (मिठा पत्ता), जहाजी र बङ्गला पान आसाम र पश्चिम बङ्गालमा तथा देशी देशावरी, कपुरी, मधही, वनारसी, कलकतीया बंगलापान उत्तर प्रदेशमा लगाइन्छ ।
नेपालमा हासम्म उत्पादन गरिएका जातहरुमा देशी, बङ्गला, संचारी र मिठापत्ता पान हो । पान खेतीका लागि उपयुक्त हावापानी भएको ठाउँमा थोरै जमिन हुने साना कृषकहरुका लागि दीर्घकालीन आयश्रोत बन्न सक्ने तथ्यलाई नकार्न सकिदैन् ।
कृषि विज्ञ रामेश्वर महतोको अनुसार हाम्रो यहाँ तराईका पूर्वी जिल्लाहरुमा विगत दुई दशकदेखि पान खेती हुँदै आएको छ । नेपालमा पनि केही समय अघिदेखि तुलनात्मक दृष्टिले थोरै क्षेत्रफलमा भएपनि झापा जिल्लाको शनिश्चरे, मोरङ्गका लेटाङ्ग, मधुमल्ला, सुनसरीको पञ्चकन्या र श्रीपुर तथा सप्तरी जिल्लामा व्यावसायिक स्तरमा परीक्षणको रुपमा पान खेती गर्न थालिएको पाइन्छ ।